कृषिको आधुनिकीकरणबाट मात्र समृद्धि सम्भव : राष्ट्रपति

357
  •  
  •  
  •  

धनुषा, ३० वैशाख(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिक्षेत्रमा जोड दिएर देशको समृद्धिमा लाग्न सबैमा आग्रह गरेकी छन् ।

फाइल तस्बिर

जानकी नवमीको अवसरमा सोमबार बिहान जानकी मन्दिरमा पूजाअर्चनापश्चात सम्बोधन गर्दै उनले कृषिलाई आधुनिकीकरण एवं व्यावसायीकरण गरी मिथिलाको उर्वर भूमिलाई सदुपयोग गर्न आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘चुरे क्षेत्रको संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम गरी दिगो विकासको अवधारणासहित कृषिको आधुनिकीकण एवं व्यवसायीकरण गर्न यस भूमिको प्रचुर उपयोग गर्नु पर्दछ ।’

प्रदेश २ सरकारले चलाएको ‘बेटी पढाउ,बेटी बचाउ’ कार्यक्रम प्रभावकारी रुपले अघि बढेको भन्दै उनले प्रसंशा गरिन् ।समारोहमा जानकी मन्दिर व्यवस्थापन पक्ष, जनकपुरधाम उपमहानगरपालिका र वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले सम्मानसहित मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, मुख्यमन्त्री लालाबाबु राउत, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, जानकी मन्दिरका सह(महन्त रामरोशनदास वैष्णवलगायतका सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता थियो ।

रामायणकालमा मिथिलाको भूमिमा राजा जनकले हलो चलाउँदा पादुर्भाव भएर जन्म भएको सीताको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष यहाँ जानकी नवमी मनाउने गरिन्छ ।

परापूर्वकालदेखि नै सीताको जन्मदेखि न्वारनसम्मको सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै मनाउन थालिएको जानकी महोत्सव पहिले औपचारिकतामा सीमित भए पनि विगत दुई वर्षदेखि भव्यता दिन थालिएको सहमहन्त रामरोशन दास वैष्णवको भनाइ छ ।

जानकी मन्दिरले १५ दिवसीय जानकी नवमी महामहोत्सव मनाउँदै आएकोमा प्रदेश सरकारले जानकी नवमीको अवसरमा शुभकामना दिँदै सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।
वैशाख २२ गतेदेखि मनाइँदै आएको जानकी महोत्सवमा जेठ ४ गतेसम्म चल्ने जनाइएको छ ।


  •  
  •  
  •