सिन्धुपाल्चोकका तीन गाविसमा २५ ‘अस्थायी सिकाई केन्द्र’

160
  •  
  •  
  •  

सिन्धुपाल्चोक, २७ जेठ (ओएनएस) : भूकम्प प्रभावित जिल्लाका विद्यार्थीहरुको पठन पाठनका लागि टीएलसी ‘अस्थायी सिकाई केन्द्र’ निर्माणको काम भैरहेको छ । जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा गैरसरकारी संघ संस्थामार्फत सरकारी मापदण्ड र डिजाइन अनुसारका केन्द्र बनिरहेका हुन् ।

सिन्धुपाल्चोकका तीन गाविसमा काम गरिरहेको कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले २५ वटा ‘अस्थायी सिकाई केन्द्र’ निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । ईर्खु गाविसका ५ विद्यालयमा ८ वटा, नवलपुर गाविसका ४ विद्यालयमा ६ वटा र भीमटार गाविसका ५ विद्यालयमा ११ वटा केन्द्र बनिरहेका छन् ।

टीडिएच नामको अन्तराष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा किर्डाकले ललितपुर, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा आपतकालिन शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । एउटा टीएलसी निर्माणका लागि ९९ हजार ७ सय ७६ रुपैंयाँ सहयोग गरेको कार्यक्रम व्यवस्थापक गोविन्द बहादुर शाहीले बताए ।

TLC in jugepanchakanya Pra Viउनले भने, ‘समुदायको आवश्यकता र विद्यार्थी सँख्याका आधारमा एउटा विद्यालयमा ३ वटासम्म टीएलसी बनेका छन् । दुई कोठे टीएलसी बनाउन प्रति टीएलसी ९९ हजार ७ सय ७६ रुपैंयाँका दरले सहयोग पाउँछन् । पहिलो किस्ता बापतको आधा रकम अधिकाँश विद्यालयमा पठाइसकिएको छ ।’

अस्थायी सिकाई केन्द्र निर्माण भएपछि विद्यार्थीको पठन पाठनमा सहज भएको विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् । तीन तले पक्कि भवन भएको इर्खु उच्च मावि भूकम्पपछि बिस्थापित भएकोमा अस्थायी सिकाई केन्द्र निर्माण भएपछि सहज भएको प्रधानाध्यापक अमृतबहादुर दंगालले बताए ।

उनले भने, ‘भवन चर्किएका कारण प्राविधिकहरुले पठनपाठन नगर्न सुझाव दिनु भएकोले हामीले बारीको पाटा लिजमा लिएर अस्थायी टहरा बनाएका छौं । किर्डाकले तीन वटा टीएलसी र एउटा शौचालय निर्माणका लागि सहयोग गरेको छ । हामी खुसी छौं । तर विद्यार्थी सँख्या ५ सयभन्दा बढी भएकोले अझै दुई वटा टीएलसी बनाउन पाए हुन्थ्यो ।’

किर्डाकले आवश्यकता अनुसार शौचालय निर्माणका लागि समेत सहयोग उपलब्ध गराएको कार्यक्रम व्यवस्थापक शाहीको भनाइ छ । ‘चर्किएका अथवा भत्किएका शौचालय मर्मत गर्न वा नभएका विद्यालयमा नयाँ बनाउनका लागि १५ हजार रुपैंयाँ विदालयले पाउनेछन् ।’ व्यवस्थापक शाहीले भने, ‘एउटा विद्यालयमा एउटाका दरले मात्रै शोचालय बनाउन सहयोग दिइएको हो । विद्यालयमा खानेपानीको अस्थायी व्यवस्थापनका लागि ट्याङ्की वा पाइप उपलब्ध गराउने विषयमा आवश्यकता पहिचान भैरहेको छ ।’

सिन्धुपाल्चोकका २५ मध्ये २० वटा टीएलसी निर्माणको अन्तिम चरणमा पुगेको संयोजक इन्जिनियर सुमन पौडेलले बताए । उनले भने, ‘इर्खुका ८, नवलपुरका ६ वटा बनिसकेका छन् । अधिकाँश टीएलसीमा विद्यार्थी राखेर पढाउन थालिएको छ । भीमटार गाविसका ५ वटा टीएलसी निर्माण भैरहेका छन् । यसै हप्ताभित्र सकिने प्रतिवद्धता विद्यालय व्यवस्थापन समितिले गरेका छन् । समुदायबाट माग आएकोले केहि टीएलसी थप हुन सक्नेछन् ।’

TLC in Jaleswor NiMaViटीएलसी बनेसँगै किर्डाकले बालबालिकाका लागि शैक्षिक सामाग्री, खेलकुदका सामाग्री तथा विपन्न र गरिब परिवारका बालबालिकालाई विद्यालय पोशाक समेत उपलब्ध गराउने भएको छ । किर्डाकले तीन गाविसमा ४ वटाका दरले सीएफएस ‘बालमैत्री ठाउँ’ तयार गरेर बालबालिकालाई मनोसामाजिक परामर्श समेत दिने भएको छ ।

तीनवटै गाविसका विद्यालयमा सीएफएस स्थापना गर्ने निर्णय भएको किर्डाक नेपालले जनाएको छ । ‘ती सीएफएसमा एक जना सहजकर्ता र एकजना स्वयंसेवकका दरले दुईजनाले काम गर्ने अवसर पाउनेछन् ।’ व्यवस्थापक गोविन्द शाहीले भने, ‘स्थान छनोटको काम सकिएको छ । तीन मेहने कार्यक्रम भएकोले आवश्यक जनशक्ति छनोटको प्रक्रियामा छौं, केहि दिनमैं उहाँहरुलाई परिचालन गर्छौं ।’

खानेपानी सम्बन्धी काम गर्न जान्ने तीन जना स्थानीयले समेत एउटा गाविसमा तीन महिनाका लागि रोजगारी पाउनेछन् ।


  •  
  •  
  •