किर्डाक नेपालद्धारा सिन्धुपाल्चोकमा ३६ अस्थायी सिकाई केन्द्र निर्माण

485
  •  
  •  
  •  

TLC of Panchakanya PS Bhimtarचौतारा, २६ असार (ओएनएस) : कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले सिन्धुपाल्चोकमा ३६ वटा अस्थायी सिकाई केन्द्र बनाएको छ । ‘तेरे दे जोम् (टीडिएच) फाउण्डेशन’को आर्थिक सहयोगमा चार गाविसका २१ विद्यालयमा ३६ सिकाई केन्द्र बनेका हुन् ।

इर्खुका ५ वटा विद्यालयमा ११, नवलपुरका ४ विद्यालयमा ६, भीमटारका ६ विद्यालयमा १२ र कर्थलीका ६ विद्यालयमा ७ गरी ३६ सिकाई केन्द्र बनेको किर्डाक नेपालका कार्यक्रम व्यवस्थापक गोविन्दबहादुर शाहीले बताए । उनले भने, ‘समुदायको माग, आवश्यकता र जिल्ला शिक्षा कार्यालयको सिफारिसका आधारमा हामीले सिन्धुपाल्चोकका ४ गाविसमा ३६ अस्थायी सिकाई केन्द्र बनाएका हौं । अधिकांशमा काम सकिएका छन् । केहि विद्यालयमा भने काम अन्तिम चरणमा पुगेको छ ।’

एउटा अस्थायी सिकाई केन्द्र ११ देखि १३ मिटर लम्बाई र ५ मिटर चौंडाईको बनेको जिल्ला संयोजक सुमन पौडेलले बताए । ‘शिक्षा विभागले जारी गरेको मापदण्डका आधारमा ३६ वटै अस्थायी सिकाई केन्द्र बनाएका छौं ।’ उनले भने, ‘२९ वटा सिकाई केन्द्रको सबै काम सकिएर पठन पाठन समेत सूचारु भैसकेको छ । बाँकी ६ वटाको काम अन्तिम चरणमा पुगेको छ ।’

TLC Jugepanchakanya PS Nawalpurस्थायी सिकाई केन्द्र निर्माणका लागि किर्डाकले विद्यालय वयवस्थापन समितिको खातामा ९९ हजार ७ सय ७६ रुपैंयाँ उपलब्ध गराएको छ । जस्तापाताको छानोसहितको अस्थायी सिकाई केन्द्र निर्माणको जिम्मा विद्यालय व्यवस्थापन समितिलाई नैं दिइएको किर्डाकले जनाएको छ । दुईकोठे अस्थायी सिकाई केन्द्रको एउटा कोठामा ४० जनासम्म विद्यार्थी अटाउँछन् ।

भूकम्पबाट प्रभावित विद्यालयमा पठनपाठन सूचारु गराउने उद्देश्यले अस्थायी सिकाई केन्द्रको अवधारणा आएको हो । किर्डाकले गरेको सहयोगका कारण विद्यार्थीको पठनपाठन सूचारु गर्न धेरै सहयोग पुगेको बताउँछन् इर्खु उच्च माध्यामिक विदालय इर्खुका प्रधानाध्यापक अमृतबहादुर दंगाल । उनी भन्छन्, ‘भूकम्पले विद्यालय भवन असुरक्षित बनाएका कारण पूर्णरुपमा विस्थापित भएको विद्यालयमा किर्डाकले ६ वटा केन्द्र निर्माणका लागि सहयोग गरेको छ ।

एउटा केन्द्रका लागि ९९ हजार ७ सय ७६ रुपैंयाँका दरले सहयोग पाएका छौं । ५ सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा ६ मध्ये ४ वटाको काम सकिएको छ । २ वटा अन्तिम चरणमा पुगेको छ ।’

किर्डाकले अस्थायी सिकाई केन्द्र निर्माणसँगै विद्यालयमा शौचालय निर्माण तथा खानेपानीका लागि ट्याङ्की सहयोग गरेको जिल्ला संयोजक सुमन पौडेलले बताए । उनले भने, ‘शौचालय भत्किएका विद्यालयमा शौचालय बनाउन वा मर्मत गर्नका लागि एउटा शौचालय बराबर १५ हजार रुपैंयाँ सहयोग भएको छ । कतिले शौचालय बनाउने र मर्मत गर्ने काम सक्नु भएको छ कति ठाउँमा बन्दैछ ।’

TLC of Bhimeswori Bhimtarविद्यालयमा खानेपानीको तत्कालिन व्यवस्थापनका लागि आवश्यकता र मागका आधारमा एक हजार लिटरसम्मको पानी ट्याङ्की वितरण गरीने किर्डाकले जनाएको छ । यसका साथै तीन गाविसका १४ विद्यालयमा बालमैत्री स्थान (सीएफएस) समेत सञ्चालनमा आएका छन् ।

बालबालिकामा रहेको भूकम्पको डर हटाउँदै विद्यालयमा नियमित उपस्थिति गराउने उद्देश्यले सीएफएस सञ्चालन गरिएको बाल संरक्षण अधिकृत विनोद शर्माले बताए । उनले भने, ‘इर्खुका ५, नवलपुरका ४ र भीमटारका ५ विद्यालयमा बनेका अस्थायी सिकाई केन्द्रमा बालमैत्री स्थान सञ्चालन भएका छन् । अहिले विद्यालयमा वर्षे विदा भएकोले विद्यार्थीलाई सीएफएसमार्फत विद्यालय आउने बानी बनाइराख्ने काम हुन्छ ।’

ती गाविसमा भूकम्पपछि विद्यालय नआएका बालबालिकाको पहिचान गरिएको बताउँदै अधिकृत शर्माले उनीहरुलाई सीएफएसमार्फत विदालयमा नियमित गराउन पहल भैरहेको बताए । ‘सीएफएसका सहजकर्ता तथा स्वयंसेवकको माध्यमबाट तीनवटै गाविसमा भूकम्पपछि कुनै विदालयमा पनि नगएका र घरै बसेका बालबालिका तथा विद्यालयमा आए पनि अनियमित भएका बालबालिकाको सँख्या एकिन गर्दैछौं । अबको हाम्रो मुख्य काम भनेको उनीहरुलाई सीएफएसमार्फत विद्यालयमा नियमित गराउनु हो ।’ विनोद शर्माले भने ।

तीनवटा गाविसका सबै विद्यालयमा बालबालिकामा सरसफाई प्रवद्र्धन गर्ने कार्यहरुसमेत भैरहेको छ । भूकम्पका कारण अलग्गिएका, एक्ला र उच्च जोखिममा परेका बालबालिकाको पहिचान गरी आवश्यक सहयोगका लागि सिफारिस गर्ने योजना समेत किर्डाकको छ ।

बाल संरक्षण अधिकृत विनोद शर्मा भन्छन्, ‘अहिले हामी विद्यालयमा केन्द्रित एकीकृत कार्यक्रम सञ्चालन गरिरहेका छौं । अलग्गिएका, एक्ला र उच्च जोखिममा परेका बालबालिकालाई दिन सकिने सेवा सुविधा हामीसँग छैन । तीन गाविसमा त्यस्ता बालबालिका पहिचान गरेर अरु निकायमा सेवा सुविधाका लागि सिफारिस गर्ने योजना छ । जसका लागि सामाजिक कार्यकर्तालाइृ परिचालन गरिसकेका छौं ।’


  •  
  •  
  •