भूकम्प प्रभावित विद्यालयको प्रश्न ‘स्थायी संरचना कहिले ?’

125
  •  
  •  
  •  

Bhimsen Primary School Nawalpurचौतारा, १६ साउन (ओएनएस) : नवलपुर गाविसको वडा नम्बर ९ मुलेमा रहेको भीमसेन प्राविको ३ वटा भवनमध्ये २ वटा भवन बैशाख १२ गतेको भूकम्पले जगबाटै भत्कियो । एउटा भवन मर्मत गरेर मात्रै प्रयोग गर्न सकिने अवस्थामा छ ।

त्यो भवनमा रहेका दुई कोठामा बालबालिका भित्र पस्नै मान्दैनन् । शौचालय समेत भूकम्पका कारण प्रयोग गर्न नसकिने गरी भत्किएको छ । किर्डाक नेपाल नामको गैर सरकारी संस्थाले ६ कोठासहितको अस्थायी सिकाई केन्द्र निर्माण गरिदियो । स्थायी संरचना तयार नहुञ्जेलका लागि भनेर अस्थायी सिकाइ केन्द्र बने पनि तिनलाई स्थायी रुपमा सञ्चालन गर्न सकिँदैन ।

प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठलाई स्थायी संरचना कसरी बनाउने भन्ने चिन्ताले पिरोलेको छ । ‘शिक्षा कार्यालय/विभागबाट भवन निर्माणका लागि बजेट आउँदा एक वर्षमा दुईकोठे भवनका लागि मात्रै आउँछ । हामीलाई कक्षा ५ सम्म सञ्चालनका लागि ६ कोठा अर्थात ३ वटा भवन चाहिन्छ ।’ उनले भने, ‘सरकारले एक वर्षमा दुई कोठे भवन निर्माणका लागि बजेट दिन्छ । यसरी बजेट आउँदा कम्तिमा ३ वटा आर्थिक वर्ष कुनु पर्ने हुन्छ ।’

विद्यालयका लागि आवश्यक कक्षाकोठा निर्माणका लागि आवश्यक श्रोत समुदायस्तरबाट पनि संकलन गर्न समस्या भएपछि गैरसरकारी निकायको सहयोगको अपेक्षा भीमसेन प्राविले गरेको छ । ट्रस प्रयोग गरेर बनाइएका संरचना मर्मत सम्भार गरेर सञ्चालन गर्न सकिने भए पनि ढुङ्गा माटोबाट बनेका संरचना जगबाटै भत्किएका छन् ।

Jaleswor LSS Nawalpurभीमसेन प्रावि मात्रै होइन भूकम्पका कारण सिन्धुपाल्चोकका ५ सय ४६ विद्यालयका ४ हजार १९ कक्षाकोठामा क्षति पुग्यो । छिमेकी जिल्ला काभ्रेपलाञ्चोकका ५ सय ४८ विद्यालयका एक हजार ८ सय २८ कक्षाकोठामा क्षति भएको छ । सिन्धुपाल्चोकका २ हजार ७ सय ४६ कक्षाकोठा पूर्णरुपमा क्षति भए भने १ हजार २ सय ७३ कक्षकोठामा गम्भीर क्षति पुर्याएको छ । काभ्रेका ५ सय ४८ विद्यालयका ९ सय ४ कक्षाकोठा पूर्णरुपमा र ९ सय २४ मा गम्भीर क्षति पुगेको छ ।

अस्थायी सिकाई केन्द्र निर्माणका लागि सहयोग गरेका गैरसरकारी संघ संस्थालाई प्रधानाध्यापक श्रेष्ठको एउटै अनुरोध छ स्थायी संरचना निर्माणका लागि पनि कार्यक्रम ल्याउन् । ‘टीडिएचको आर्थिक सहयोग र किर्डाकको पहलमा ३ वटा अस्थायी सिकाई केन्द्र (टीएलसी) निर्माण भएपछि पठनपाठन सूचारु गर्न सहज भएको छ । हामीले कम्तिमा २ वर्ष धान्ने गरी बनाएका छौं । त्यसपछि विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता लागिरहेको छ ।’ राधाकृष्ण श्रेष्ठ भन्छन्, ‘भूकम्प प्रभावित विद्यालयमा स्थायी संरचना निर्माणका लागि सरकारले एकैपटकमा बजेट छुट्याउन नसक्ने रहेछ । यसो हुँदा गैरसरकारी निकायको साथ भए थोरै समयमा विद्यालयको आवश्यकता पुरा गर्न सकिन्छ ।’

Juge Punchakanya PS Nawalpur 2किर्डाकले प्रधानाध्यापकका लागि आयोजना गरेको अस्थायी सिकाई केन्द्र, बालमैत्री स्थान र यसको व्यवस्थापन सम्बन्धीको दुई दिने तालिमका सहभागी अधिकाँश प्रधानाध्यापकले स्थायी संरचनाको आवश्यकता औंल्याए । धुलिखेलमा भएको तालिममा जिल्ला शिक्षा कार्यालय काभ्रेका शाखा अधिकृत बालकृष्ण सिंखडाले पनि स्थायी संरचना निर्माणका लागि सरकारलाई सहयोग गर्न गैरसरकारी निकायसँग आग्रह गरे । उनले भने, ‘भूकम्पले क्षति पुर्याएकोले एकै पटकमा धेरै वटा भवन निर्माण गर्नु पर्ने आवश्यकता छ । अस्थायी सिकाई केन्द्र निर्माणमा सरकारको काममा सहयोग गरेका गैर सरकारी संघ संस्थाले ती विद्यालयमा स्थायी संरचना निर्माणमा सहयोग गरिदिउन् भन्ने हामीले चाहेका छौं ।’

अस्थायी सिकाई केन्द्र निर्माण सँगसँगै स्थायी संरचना निर्माणका लागि पनि पहल गरिरहेको किर्डाक नेपालका कार्यकारी निर्देशक मीनबहादुर शाहीले बताए । उनले भने, ‘हामीले विद्यालय तत्काल सञ्चालन गर्नका लागि टीएलसी निर्माणको अवधारणा अनुसार सरकारको कामलाई सहयोग गरेका हौं । सिन्धुपाल्चोक र काभ्रेमा गरी ६७ वटा टीएलसी बनेका छन् । केहिमा बाहेक अरुमा काम सकिएको छ ।’

अस्थायी सिकाई केन्द्र निर्माणको काम सकिएको र विद्यालय सञ्चालनमा आइसकेकोले स्थायी संरचना निर्माणका लागि पहल भैरहेको उनको भनाइ छ । ‘शिक्षा विभागको तथ्याङ्क अनुसार सिन्धुपाल्चोकका २ हजार ७ सय ४६ कक्षाकोठा निर्माणका लागि एकैपटक बजेट निकासा गर्न सरकारलाई चुनौती छ । हामी पनि त्यसका लागि सरकारसँग समन्वय र सहकार्य गर्न खोजिरहेका छौं ।’

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले सिन्धुपाल्चोक र काभ्रेमा ६७ टीएलसी निर्माण गर्नुका साथै विद्यालयमा खानेपानीको व्यवस्थापन तथा शौचालय निर्माणका लागि सहयोग गरेको छ । विदालय तथा समुदाय केन्द्रित सरसफाई प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन भैरहेको कार्यक्रम व्यवस्थापक गोविन्दबहादुर शाहीले जानकारी दिए । उनले भने, ‘अस्थायी सिकाई केन्द्र निर्माणको कार्यसँगै आवश्यकताका आधारमा खानेपानीका लागि ट्याङ्की, पाईप, जडानका सामानहरु उपलब्ध गराउँदै छौं । यसका साथै छात्र, छात्राका लागि छुट्टा छुट्टै शौचालय निर्माणका साथै सरसफाई प्रवद्र्धनका कार्यक्रमहरु भैरहेका छन् ।’


  •  
  •  
  •