‘किम जोङ उन रुढीवादी लोग्ने होइनन्, पत्नीलाई बराबरीको व्यवहार गर्दा रहेछन्’

592
  •  
  •  
  •  

 सन् २०१४ मा किम पत्नी रीसँग

उत्तर कोरियाली शासक किम जोङ उन कस्ता होलान्? यो जिज्ञासा धेरैलाई छ। हालै उत्तर कोरिया पुगेर किमलाई भेटेर फर्केका दक्षिण कोरियाली अधिकारीहरुले उनका बारेमा केही जानकारी सार्वजनिक गरेका छन्।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका विशेष दूतका रुपमा किमलाई भेटेर फर्केका उनीहरुले प्योङयोङको रात्रीभोजमा किम सहज र आत्मविश्वासपूर्वक प्रस्तुत भएको बताएका छन्।

दक्षिण कोरियाली सरकारी अधिकारीहरुलाई उधृत गर्दै रोयटर्सले जनाएअनुसार सो भोजमा चाउचाउ र रक्सी खाँदै किम जोङ उनले आफैँबारे पनि मजाक गरेका थिए। बाहिरी संसारमा र सञ्चारमाध्यममा रहेको आफ्नो छविका बारेमा पनि किमले मजाक गरेका थिए।

सो क्रममा किम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि वार्ताका लागि तयार भएका थिए। प्योङयोङबाट फर्केका दक्षिण कोरियाली विशेष दूत अमेरिका पुगेपछि ट्रम्प पनि किमसँगको भेटका लागि तयार भएका छन्।

दक्षिण कोरियाली प्रतिनिधिमण्डलसँग भेट्दै किम जोङ उन

‘हामीले क्षेप्यास्त्र हान्यो कि सबेरै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्नुपर्ने हुनाले राष्ट्रपति मुनलाई निकै गाह्रो भयो होला,’ रात्रीभोजका बेला दुई नेताबीच हटलाइन सेवा सुरु गर्ने विषयमा किमले भनेका थिए, ‘यदि संवाद रोकियो र शत्रुता देखापर्‍यो भने पनि राष्ट्रपति मुन र म एक टेलिफोन कलमै यसलाई समाधान गर्न सक्छौँ।’

दक्षिण कोरियाली टोलीलाई उत्तर कोरियाली हटपट र त्यसपछि चिसो चाउचाउ पस्किइएको थियो। किम र अन्य अधिकारीले जिनसेङ र सोजुबाट निर्मित कैयौँ बोतल मदिरा पनि पिएका थिए।

दक्षिण कोरियाली दूतहरुले किम र उनकी पत्नी री सोल जुबीचको सम्बन्धको अवलोकन पनि गर्न भ्याएका थिए। उनीहरुका अनुसार किमले पत्नीसँग अभिमानी व्यवहार गर्दारहेनछन्। किम र रीको जोडी ‘बराबरी’ देखिएको उनीहरुले बताएका छन्। ‘उनीहरु एकअर्काको एकदम निकट देखिए। किम पनि कुनै रुढीवादी पतिजस्ता लागेनन्।’ एजेन्सी


  •  
  •  
  •