काठमाडौं, २१ असाेज (एजेन्सी) : अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको दोस्रो शिखर वार्ता चाँडै हुने बताएका छन् । पोम्पियोले दुई नेताबीचको वार्ताको वातावरण मिलाउन आफू उत्तर कोरियाको भ्रमणमा जान लागेको बताए । उनी शनिबार जापानको राजधानी टोकियो आइपुगेका हुन् ।
‘मेरो भ्रमणको उद्देश्य अमेरिका र उत्तर कोरियाबीच प्रशस्त विश्वास बढाउनु रहनेछ ।’ टोकियो विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै पोम्पियोले भने, ‘त्यसपछि हामी अर्को शिखर सम्मेलन गर्दै छौं ।’
उनले भने, ‘मेरो भ्रमण आगामी शिखर सम्मेलनको तयारी, स्थान र समय तय गर्न महत्त्वपूर्ण हुनेछ ।’ ट्रम्प र किमबीच गत जुन १२ मा सिंगापुरमा पहिलो शिखरवार्ता भएको थियो । एएफपी