नेवार समुदायले किजा पूजा मनाउँदै, आज सार्वजनिक विदा

52
  •  
  •  
  •  

काठमाडौं । नेवार समुदायले आज किजा पूजा अर्थात भाईटिका मनाउँदैछन् । विभिन्न मौलिक चाडवाड, सभ्यता तथा संस्कारको धनी नेवाः समुदायले मूल रुपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा अर्थात भाईटिका मनाउँने गर्दछन् । तीन दिन सम्म लगातार रुपमा तिहार मनाउँदै आएको कारणले नै यो पर्वलाई स्वन्हु नखः समेत भन्ने गरिन्छ ।
नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाड पर्व हो ।

कृषी प्रधान नेवा समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब किताब सम्पन्न गर्ने तथा आफ्नो शरीरलाई पुजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडि बढ्न आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने चलन छ । यस दिनमा म्ह पूजाकै दिनझैं मण्डप लेख्ने गरिन्छ । मण्डपमा बिमिरो लगायत विभिन्न प्रकारका फलफुल समेत राख्ने गरिन्छ ।

नेवाः समुदायमा अक्षता, अबिर, दहि, चिउरा र पानी राखेको रातो टिका लगाउने चलन छ । किजा पूजामा म्ह पुजाकै दिनझैं पुजाआजा गर्दै सगुन दिने चलन रहेको छ । पञ्चतत्वको सगुन दिइ पुजा गर्ने र आफ्नो दाजुभाइको दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देवत्व र दिदिबहिनीबिचको आत्मियताकालागि नेवा समुदायमा तिहार प्रसिद्ध रहेको छ ।

यसैबीच सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै आज सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहका प्रवक्ता सहचक्र बहादुर बुढाका अनुसार किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको र उक्त दिन सरकारी कार्यालय पनि बन्द रहने छन्। भाइटिकाको भोलिपल्ट नेवाः समुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गर्छन्।

किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी सबै प्रकारका फलफूल राख्ने गरिन्छ । त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार र खानेकुरा आदि दिने गरिन्छ।

नेवार समुदायले तिहारलाई स्वन्ति नखः भन्छन् । उनीहरुले तिहारको बेला लक्ष्मी, म्ह, किजा पूजा र नेपाल सम्वत विशेष रुपमा मनाउने गर्छन्।


  •  
  •  
  •