‘गरिबले अब मर्नुको विकल्प छैन’

459
  •  
  •  
  •  

विराटनगर, ६ बैशाख (ओएनएस) : विराटनगर–१० का बुद्ध मोक्तान दुई बर्षदेखि कोशी अञ्चल अस्पतालमा मृगौलाको ‘डाइलासीस’ गराइरहेका छन् । रोग पहिचान गर्नुअघि उपचारमा गर्दा–गर्दै सबै सम्पति सकेका उनी ‘डाइलासीस’ गरेर जीवन चलाई हेका छन् ।

अञ्चल अस्पतालमा ‘डाइलासीस’ गराउँदैगर्दा भेटिएका ६० बर्षिया मोक्तानलाई सरकारले दुई सय ८ पटकसम्म मात्र ‘‘डाइलासीस’ निशुल्क गराउँछ भन्ने थाहा रहेछ । आफ्नो ‘डाइलासीस’ गर्न पाउने समय सकिनै लागेका उनले भावुक हुँदै भने ‘दुई सय ८ पटकमात्र सरकारले निशुल्क गर्छ भन्ने सुनेको छु । मैले सुनेको सहि हो भने हामी गरिबले के गर्नु ? मर्नु ।’

‘पैसा भएकाले त निजीमा लगेर उपचार गर्छन् । ’ उनले थपे, ‘म जस्तो गरिबले अब मर्नुको विकल्प छैन ।’ ठुला नेताले बाहिर गएर मृगौला फेरेपनि गरिबले पैसा नहुँदा बाच्न नपाउने अवस्था रहेको उनले गुनासो गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रसंग उठाउँदै उनले भने ‘ ठुला मान्छेको सरकारले निशुल्क मृगौला फेरिदिन्छ । बेला–बेला विदेशमा गएर उपचार खर्चपनि ब्यहोर्छ । तर, हामीलाई सीमित समय ‘डाइलासीस’ गराएर मर्न बाध्य बनाउँछ । के हामी यो देशका जनता होइनौ ? हाम्रो खर्च सरकारले ब्यहोर्न सक्दैन ? ’

मोक्तान जस्तै सुनसरी झुम्काकी दिलकुमारी दाहालले खुट्टा सुनिएपछि परिक्षण विराटनगर आइन । ५ महिना अघिको घटना सम्झदै उनले भनिन, ‘मृगौलाले काम नगरेको धेरै भएछ । डाक्टरले हेरे लगत्तै तत्काल ‘डाइलासीस’गर्न भन्नुभयो ।’ गोल्डेन हस्पिटलमा ‘डाइलासीस’ गराँउदै आएकी उनले बाँच्ने रहर भएपनि मृगौला परिवर्तन गर्न सक्ने अवस्था नरहेको दुखेसो पोखिन् । उनले भनिन, ‘ धेरै पैसा चाहिन्छ रे, मृगौला फेर्न । ’

उर्लावारी मोरङका महेशप्रसाद सिंहले विरामी भएपछि नेपालका नाम चलेका र भारतको मेदान्त अस्पता सम्म स्वास्थ्य परिक्षण गर्न पुगे । लामो समयदेखि मधुमेहका विरामी उनले ४ महिना अघि काठमाडौको एक अस्पतालमा परिक्षण गराउदा मात्र थाए, उनका दुवै मृगौला फेल भएछ ।

रोग पहिचान गर्न भारतको दिल्लीसम्म पुगेका उनलाई चिकित्सकले तत्काल ‘डाइलासीस’ गर्नुको बिकल्प छैन भन्ने जवाफ दिए । ४ महिना यता उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा ‘डाइलासीस’ गराईरहेका छन् ।

माथिका तीन प्रतिनिधी घटना मात्र हुन् । मृगौला स्वस्थ्य राख्न ध्यान नदिदा हजारौ मानिसको मृगौला फेल भैरहेको छ । बजारमा मृगौला परिक्षण गर्न ६० रुपैयाँ देखि एकसय रुपैयाँसम्म खर्च हुन्छ । सामान्य पिसाव परिक्षा गर्दा मृगौलाको अवस्था कस्तो हुन्छ भन्ने थाहा हुन्छ । तर, मानिसमा मृगौला परिक्षण गर्नुपर्छ भन्ने चेतना नहँुदा रोग लागिसकेपछि घरवारबिहिन हुने गरेका छन् ।

deuja
विराटनगर–१४ भानु टोलका पुष्प देउजाकी श्रीमती रुपा देउजा र दुई नाबलक छोराछोरी । ४ बर्षअघि मृगौला फेल भएपछि  रुपा श्रीमानलाई  मृगौला दान गर्न तयार छिन् । तर, उपचार गर्न लाग्ने खर्च नभएपछि मृगौला प्रत्यारोपण हुन सकेको छैन ।

मृगौला रोग विशेषज्ञ डा. रमेश चौरासिया समय–समयमा परिक्ष०ा गराउँदा मृगौला फेल हुनबाट रोक्न सकिने बताउछन् । तर, अधिकांश ब्यक्तिलाई मृगौला जाँच गराउनुपर्छ भन्ने जानकारी नहुने उनको अनुभव छ । डा. चौरासिया भन्छन् ‘एकैपटक दुबै मृगौला फेल हुदैनन् । दुई–तीन स्टेप पछिमात्र फेल हुन्छ । बर्षमा एकपटक परिक्षण गराउने हो भने मृगौला फेल हुनबाट रोक्न सकिन्छ । यदी एउटा फेल भैहालेपनि अर्काेलाई स्वस्थ्य राख्न सकिन्छ । तर, यहाँ त दुवै मृगौला फेल भएपछि मात्र विरामीहरु बढि आउछन् ।’

मृगौला फेल भएपछि उपचार महङगो भएकाले सामान्य ब्यक्ति उपचार गर्न नसक्ने डा. चौरासिया बताउछन् । उनी भन्छन् ‘ सामान्य मृगौला जाँच गर्दा फेल हुनबाट बच्न सकिन्छ । तर, वास्ता नगर्ने हो भने उपचार गर्न खर्च धान्नै मुस्किल पर्छ । ’

मृगौला फेल भएपछि बाच्ने उपय भनेकै ‘डाइलाइसीस’ वा मृगौला परिवर्तन हो । तर यी दुवै प्रविधी महङगो भएकाले उपचार सामान्य मानिसको पहुच भन्दा धेरै टाढा छ । मृगौला ‘डाइलाइसीस’ गर्दा एक पटकको अस्पताल अनुसार तीन हजार देखी ६ हजार ७ सय रुपैयाँसम्म खर्च हुन्छ । तर, समयमा नै ध्यान दिने हो भने यसको उपचार ६० रुपैयाले गर्न सकिन्छ । यसरी हेर्ने हो भने मृगौला ‘डाइलासीस’ गर्न मात्र मासिक ३० देखी ४५ हजार सम्म खर्च हुन्छ । जुन सामान्य मानिसले जुटाउन मुस्किल छ । अझ मृगौला परिवर्तन गर्दा ६ देखी ७ लाख सम्म खर्च हुन्छ । मृगौला परिवर्तन गर्न आफनै नातेदार हुनु पर्छ ।

सरकारले मृगौला पिडीतहरुलाई सहयोग स्वरुप २ सय ८ पटकसम्म निशुल्क ‘डाइलासीस’ गर्ने व्यावस्था मिलाएको छ । यसरी हेर्दा हप्तामा दुईपटक ‘डाइलाइसीस’ गर्नेले दुई बर्षसम्म निशुल्क पाउछन् । ’ एक व्यक्तिलाई पाँच लाख रुपैयाँ बराबरको सरकारले ‘डाइलासीस’ निशुल्क गराउछ । तर, कोटा थोरै भएकाले अधिकासंले ‘डाइलाइसीस’ गराउन महङगो मूल्य बझाइरहेका छन् ।

पूर्वाञ्चलमा कोशी अञ्चल अस्पताल, गोल्डेन हस्पिटल र विपी प्रतिष्ठानमा निशुल्क ‘डाइलाइसीस’ गर्ने सेवा सुचारु छ । मधुमेह र उच्च रक्तचाप नै मृगौला बिग्रनुको मुख्य कारण हो । तर, सामान्य मानिसको पनि मृगौला फेल हुन सक्छ । खानपानमा बिशेष ध्यान दिने हो भने मृगौला फेल हुनबाट रोक्न सकिन्छ ।

के हो ‘डाइलासीस’

मृगौलाको मुख्य काम शरीरमा रहेका ‘मेटाबोलिजम’बाट उत्पादन हुने बिकारहरु शरीरमा जम्मा हुन नदिई बाहिर फ्याक्ने हो । त्यसबाहेक मृगौलाले शरीरमा पानी र लवणको मात्रा मिलाउन, क्याल्सियम र फोस्फोरसको सन्तुलन कायम राखी हड्डीहरु बलिया बनाउने काम गर्छ । त्यस्तै मांसपेसी र नसाहरु चल्नका लागि शरीरमा सोडियम, पोटासियमको मात्रा मिलाउन, रगत बनाउने हार्मोन, रक्तचाप नियन्त्रण र मुटुकै कार्य नियन्त्रण गर्न पनि मृगौलाको महत्वपूर्ण भूमिका हुन्छ ।

मृगौला बिग्रिएछि पिसाबमार्फत निस्कनुपर्ने पानी र फोहोर पदार्थ शरीरमै जम्मा हुने डा. विनोद चौधरी बताउछन् । मृगौलाले काम गर्न नसक्ने भएपछि बाहिरबाट मृगौलाको काम गर्ने विधीलाई ‘डाइलासीस’ भनिन्छ । डाइलसिस गर्दा पिसावबाट जान नसकेका विकारका बस्तु बाहिर निकालिन्छ । ‘डाइलासीस’गर्न कम्तिमा ३ देखी ४ घण्टा समय लाग्छ ।

बच्ने उपाय
मृगौला रोगको रोकथाम भनेको यो रोग लाग्नै नदिनु हो । यसको लागि मृगौलाको नियमित जाँच गराउनु पर्दछ । यदि बेलैमा थाहा भएमा मृगौला बिग्रबाट लामो समयसम्म रोक्न सकिन्छ । स्वस्थ्य व्यक्तीको पनि मृगौला खराव हुन सक्छ डा चौरासिया भन्छन ‘हरेक व्यक्तिले बर्षमा एक पटक मृगौलाको जाँच गराउनु उपयुक्त हुन्छ ।’


  •  
  •  
  •