अपहरणमा परेको नाटक गर्दै प्रहरीलाई तनाव दिने पक्राउ

156
  •  
  •  
  •  

dharan

धरान, २० साउन (ओएनएस) : अपहरणमा परेको भन्दै प्रहरी र परिवारलाई तनाव दिने एक व्यक्ति उल्टै प्रहरीको फन्दामा परेका छन् ।

परिवार, छिमेकी र प्रहरी प्रशासनलाई चारदिनदेखि तनाव दिने धरान १७ रेल्वेका ३६ वर्षीय प्रतिमान विकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले आफू अपहरणमा परेको खबर फैलाएपछि खोजतलासका लागि प्रहरी व्यापक परिचालन हुनुका साथै परिवार तथा छिमेकीहरु चिन्तामा थिए ।

विकका आफन्तले अपहरण परेको जनाउँदै इलाका प्रहरी कार्यालयमा खोजतलास र ज्यान सुरक्षाको उजुरी दिएका थिए । उनलाई प्रहरीले धरानमै एक मासु पसलमा पक्राउ गरेको छ । उनी अर्का स्थानीय मासु व्यवसायी हजमुल मियाँको पसलमा कामदारको रुपमा कार्यरत थिए ।

गत मंगलबार राति प्रतिमानले आफ्नै मोबाइल नम्बरबाट आफू अपहरणमा परेको भन्दै वधशाला सञ्चालक हजमुल मियाँलाई जानकारी दिएका थिए । उनले फोनमार्फत नै २ लाख रुपैयाँ लिएर राति १२ बजे सुनसरीको इनरुवा आउन समेत भनेका थिए ।

प्रहरीको टाउको दुखाई भइरहेको अवस्थामा अपहरणमा परेका भनिएका विक धरानमै फेला परेपछि प्रहरीले उनलाई हिरासतमा राखेर सोधपुछ गर्दा कसैले अपहरण गरेको नभई आफैंले नाटक गरेको बयान दिएको प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।


  •  
  •  
  •