‘चरी’की प्रेमीका भन्छिन–‘शंका लागे मेरो सम्पत्तिबारे छनबिन होस’

370
  •  
  •  
  •  

काठमाडौं, २६ साउन (ओएनएस) : प्रहरीसंगको भिडन्तमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’की पे्रमीका खुश्वु ओलीले शंका लागे आफ्नो सम्पत्ति बारे छाननि गर्न सकिने बताएकी छन् । ‘चरी’ले गुण्डागर्दी गरेर कमाएको सम्पत्ति खुश्वुको नाममा जम्मा गरेको भन्ने अफवाहलाइ चुनौती दिदै उनले आफ्नो सम्पत्तिको बिषयमा छानबिव गर्न सकिने बताएकी हुन् ।

सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा खुश्वुले दिनेश अधिकारीको जीवन भन्दा आफ्नो ईज्जत ठूलो नभएको भन्दै न्यायिक छानविन होस भनेर आफूले बोलेको स्पष्ट गरिन । ‘मेरो मनोबल गिराउन सम्पत्तिको कुरा गरिएको छ, सम्पत्तिको विषयमा उठेको कुरामा छानविन गर्न चुनौति दिन्छु’ उनले भनिन् ।

उनले आफू हत्याको सूत्राधार नभएको भन्दै मुलुकमा प्रहरी अराजकता बढ्न नदिन आफूले अभियान चलाएको बताईन । ओलीले आफ्नो प्रेमीको हत्याको सूत्राधार आफू नभएर अर्पण कोइराला र प्रहरी निरिक्षक कुमुद ढुँगेल भएको आरोप लगाईन् ।

ओलीले अधिकारीको हत्या फिल्मी शैलीमा भएको भन्दै अर्पण कोइराला र कुमुद ढुङगानाले पठाएको म्यासेजले समेत हत्याको पुष्टी गर्ने दावी गरिन । उनले भनिन्–‘केही व्यक्तिको नीच मनोवृत्तिका कारण चरीको हत्या भएको हो । यसको बारेमा निष्पक्ष छानविन हुनुपर्छ ।’

पुलिसलाई मान्छे मार्ने अधिकार छैन: 
अधिकारकर्मीहरुले कुनै पनि नाममा प्रहरीलाई मान्छे मार्ने अधिकार नभएको भन्दै दिनेश अधिकारी हत्या काण्डको निष्पक्ष छानविन हुनु पर्ने माग गरेका छन । दिनेश अधिकारी हत्या प्रकरण सरोकार समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष सम्भु थापाले प्रहरीलाई ईन्काउन्टर गर्ने अधिकार नभएकोले यो घटनामा संलग्न भएको प्रहरी अधिकारी र घटनाको सम्बन्धमा निष्पक्ष छानविन आयोग गठन गर्नुपर्ने बताए ।

दिनेश अधिकारी हत्या प्रकरण सरोकार समितिद्वारा आयोजित कार्यक्रममा थापाले शिक्षण अस्पतालमा कसैलाई पनि जान नदिने गरि लगाईएको बन्देज आफैमा शंकास्पद भएको भन्दै अधिकारी हत्या अघिको पूर्व अवस्था र पोष्टमार्टमको रिपोर्टको यथार्थ बाहिर ल्याउनु पर्ने माग गरे । उनले अधिकारी हत्या प्रकरणले प्रहरी जनता विरुद्ध प्रयोग हुन थालेको स्पष्ट भएको भन्दै अधिकारीको अप्राकृतिक मृत्यू भएको कुरा स्वयम गृहमन्त्रीको बक्तब्यबाट समेत पुष्टि भईसकेको दावी गरे ।

थापाले अधिकार हत्याको छानविन गर्न बार एसोसिएसन, पत्रकार महासंघ र मानवअधिकार आयोगका पूर्व पदाधिकारीहरुको संयूक्त टोली बाउनु पर्नेमा समेत जोड दिए । थापाले ६२–६३ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई पनि यो घट्नावारेमा सत्य तथ्य बाहिर ल्याउन सहयोग गर्न आग्रह गरेका थिए ।
खिलराज रेग्मी प्रधानमन्त्री भए देखिनै गैर न्यायिक हत्या बढेको भन्दै यो घटना प्रहरी महानिरिक्षक उपेन्द्र कान्त अर्याल सँग जोडिएको दावी गरे ।
नेपाल बार एसोसिएसनका उपाध्यक्ष टिकाराम भट्टराईले अधिकारी प्रहरीको ईन्काउन्टरमा मारिएको पुष्टि गरिसकेपछि घटनाको जिम्मेवारी स्वयम प्रधानमन्त्री सुशील कोइरालाले लिनु पर्ने भन्दै गृहमन्त्रीले प्रहरीको रिपोर्ट पढेर जागिरे जस्तो बनेको आरोप लगाए ।

उनले अधिकारी घटनाको छानविन गरेर सत्यतथ्य बाहिर नल्याए मुलुकमा ब्यक्ति हत्याको श्रृंखला बढ्ने दावी गर्दै मान्छे मार्ने नै भए जेल र अदालतको किन आवश्यकता पर्यो भनि प्रश्न गरे । घटनाक्रमले हत्याको पुष्ट गरेकोले न्यायिक जाचबुझ ऐन २०२६ अनुसार घटनाको छानविन गर्नु पर्ने भन्दै सभासदहरुले निष्पक्ष छानविनको मागलाई जोडदार ढंगले उठाउनु पर्नेमा जोड दिए ।

ईन्सेकका अध्यक्ष सुवोध राज प्याकुरेलले गृहमन्त्रीको संसदको अभिब्यक्तिले मुलुकमा पुलिस राज सुरु गर्ने दावी गर्दै गृहमन्त्रीले प्रहरीको रिपोर्ट मात्र पढेको बताए । उनले मान्छे मार्न पाईन्छ भनेर कहाँ लेखिएको छ भनि प्रश्न गर्दै नेपालको सुरक्षा निकाय गैर न्यायिक हत्यामा पल्किएको दावी गरे । बुढी मरि भन्दा पनि काल पल्कियो भन्ने चिन्ता हाम्रो हो–उनले भने ।

प्याकुरेलले घटनाका निष्पक्ष छानविन हुनु पर्ने भन्दै चरी हत्याको एन्टेमोटम( हत्यापूर्वको अवस्था र पोष्टमार्टमको रिपोर्ट निष्पक्ष रुपमा बाहिर आउनु पर्नेमा जोड दिए । अधिकारकर्मी एवम अभिवक्ता दिनेश त्रिपाठीले पुलिसले अदालतलाई विस्थापन गर्न नपाउने बताउँदै अधिकारी हत्या काण्ड न्यायलयको उपहास भएको बताए । उनले घटनाको प्रकृति हेर्दा आशंका गर्ने प्रसस्तै ठाँउ भएको भन्दै घटनाको निष्पक्ष छानविन गर्नु पर्ने माग गरे ।
उनले ईन्काउन्टरमा कसैको पनि छातीमा गोली नलाग्ने दावी गर्दै गृहमन्त्रीले पुलिसको एजेण्टको रुपमा भूमिका निर्वाह गरेको दावी गरे ।

सभासद गुरु प्रसाद बुर्लाकोटीले अधिकारी हत्याको छानविन गर्न संसदीय समिति गठन नगरे संसद अवरुद्ध पार्ने चेतावनी दिदै कुनै पनि नागरिक मार्न नपाईने बताए । अधिकारीको छातिमा गोली लागेको घटनाले शंका गर्ने प्रसस्त ठाँउ देखाएको भन्दै गृहमन्त्रीको संसदको अभिब्यक्ति आपत्तिजनक भएको टिप्पणी गरे । उनले भने–’मान्छे मार्न पाईदैन । गल्ती भए कारवाही गर्नु पर्छ । सम्पत्तिको छानविन गरे हुन्छ । हाम्रो त्यसमा कुनै आपत्ति छैन ।’
उनले घटनामा संलग्न अधिकारीलाई निलम्बन गरेर छानविन गर्न माग गरे ।


  •  
  •  
  •