धर्म निरपेक्षतासहितको संविधान जलाउने खुमबहादुरको चेतावनी

159
  •  
  •  
  •  

काठमाडौ, २७ भदौ (ओएनएस) : नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षतासहितको संविधान जारी गरे भोली पल्टै राजधानीको शान्तिबाटिकामा जलाउने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले धर्मनिरपेक्षता जनआन्दोलनको म्याण्डेड नभएको भन्दै पेलेर बहुमतको आधारमा धर्मनिरपेक्षतासहितको संविधान जारी गरे जलाउने चेतावनी दिएका हुन । अब बस्ने नेपाली कांग्रेसका केन्द्रिय समितिको बैठकमा आफूले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने र संघियता विनाको संविधान जारी गर्नुपर्ने प्रस्ताव पेश गर्ने पनि उनले जानकारी दिए । साक्षात्कारमा उनले ८१ दशमलब ५ प्रतिसत जनता हिन्दु भएको मुलुकमा कांग्रेसले धर्म निरपेक्षतामा गएर गल्ती गरेको तर्क गर्दै धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र हुनुपर्ने माग गरे ।

खड्काले अहिले पेलेर धर्म निरपेक्षता घोषणा गरिए पनि आगामी दश–बाह्र वर्षभित्र मुलुक भयंकर धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिए । उनले कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल कोठाभित्र हिन्दु धर्मकै पक्षमा रहे पनि बाहिर बोल्न नसकेको दावी गर्दै नेपाली कांग्रेसको केन्द्रीय समितिमा पनि हिन्दु राष्ट्रको पक्षमा बहुमत पुग्ने ठोकुवा गरे ।

खड्काले आफू संघीयताको पक्षपाती नभएको स्पष्ट पार्दै संघीयताले मुलुकको हित नगर्ने बताए । उनले संघीयतामा जानै पर्ने भए पनि अहिलेको पाच विकास क्षेत्रलाई पाँच प्रदेश मानेर उत्तर–दक्षिण संघीयतामा भौगोलिक आधारमै जानु पर्ने भन्दै जातीय आधारको संघीयतामा गए मुलुक विभाजित हुने दावी गरे ।

आफ्नै पार्टी सभापतिको नेतृत्वको सरकारले अहिलेसम्म कुनै गतिलो काम गर्न नसकेको टिप्पणी गर्दै यहि गतिमा अघि बढीरहे कांग्रेसको अस्तित्व नै समाप्त हुने ठोकुवा गरे । उनले भने– यो सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजलाई नेपाल ल्याउनु बाहेक कुनै काम गर्न सकेको छैन । सरकारमा एमाले हावी छ । यस्तै तालले देश बामपन्थीको कब्जामा जान्छ र अर्को चुनावमा एमालेले बहुमतसहित सरकार बनाउँछन् । यद्यपि उनले एमाओवादी भने अझै समाप्त भएर जाने दावी गरे । उनले भने–प्रचण्ड नाङगिसकेका छन ।
खड्काले आगामि असोज ४ गतेबाट केन्द्रीय समितिको म्याद सकिने भएकोले तत्काल महाधिवेशन गर्नु पर्ने पक्षमा आफू रहेको समेत साक्षात्कारमा स्पष्ट पारे ।


  •  
  •  
  •