खुलामञ्चमा अतिक्रमण गरेको भन्दै प्रदर्शन

355
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख(ओएनएस) : खुलामञ्चको उत्तरतर्फ र दक्षिणतर्फ व्यापारिक सटर बनाएर धमाधम भाडामा लगाइ खुला ठाउँ अतिक्रमण गरेको भन्दै बिहीबार प्रदर्शन गरिएको छ ।

नागरिक समाजका अगुवाहरुले अनधिकृत रुपमा बनाइएका सटर तत्काल हटाएर खुला ठाउँ कायम राख्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

सहभागीले ‘खुलामञ्च कहाँ छ खुला?’, ’जनताले चुनेर जन प्रतिनिधि बनायो, खुला मञ्चमा भष्ट्राचार गनायो’ सहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीले काठमाडौं महानगरपालिकासँग भएको सम्झौता विपरित खुलामञ्चमा ४४ वटा व्यापारिक स्टल सञ्चालनमा ल्याएको छ ।

सम्झौता अनुसार महानगरले सुविधासम्पन्न काठमाडौं भ्यू टावरको निर्माण गर्ने भन्दै बसपार्कलाई २०७३ वैशाखमा दुई वर्षको लागि खुलामञ्चमा सारेको थियो ।

दुवै पक्षबीच भएको सम्झौतामा खुलामञ्चमा निर्माण गरिने अस्थायी बसपार्कमा तीनवटा बस काउन्टर, तीन वटा यात्रु प्रतीक्षालय, एक सार्वजनिक शौचालय र एउटा क्यान्टिन निर्माण गर्ने उल्लेख थियो । तर, निर्माण कम्पनीले भने सम्झौता विपरित व्यापारिक सटर बनाएर धमाधम भाडामा लगाएको छ ।

कम्पनीले तीन लाखदेखि १२ लाख रूपैयाँ अग्रिम लिएर प्रति सटर १२ हजार रूपैयाँमा भाडामा लगाएको छ । सो कम्पनीले राजनीति पहुँचकै आधारमा व्यापारिक सटर निर्माण गरेको देखेर पनि महानगरपालिका भने मौन बसेको छ ।


  •  
  •  
  •