काठमाडौं १७ फागुन । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय गठबन्धनको सभामा तराई–मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर र आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिका संयोजक पदमरत्न तुलाधार देखिएनन्। ठाकुर र तुलाधार सभास्थल खुलामञ्चमा उपस्थित नभएपछि तमलोपाबाट उपाध्यक्ष हृदयेश त्रिपाठी र आन्दोलन समितिबाट प्रवक्ता ओम गुरुङले प्रतिनिधित्व गरेका थिए।
‘माइतीघरसम्म अध्यक्ष (ठाकुर) उपस्थिति हुनुहुन्थ्यो, त्यहीँ उहाँ बेहोस भएपछि घर फर्कनुभयो,’ तमलोपा केन्द्रीय सदस्य सुरेश मण्डलले नागरिकसँग भने। तुलाधार पनि स्वास्थ्यका कारण सभामा नआएको जनाइएको छ। ३० दलीय गठबन्धनका सबै प्रमुख नेताले बोल्न नपाए पनि माओवादीका भने दुई नेता अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईले सम्बोधन गरेका थिए। सभामा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र संघीय सद्भावनाका अध्यक्ष अनिल झालगायतले बोल्न नपाएका हुन्। सभालाई सम्बोधन गर्ने एक मात्र महिला नेत्री संघीय लोकतान्त्रिक थरुहट मञ्चकी अध्यक्ष रुक्मिणी चौधरी हुन्।
सभा सञ्चालक पासाङ शेर्पाले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई आसन ग्रहण गराउन छुटाएका थिए। मञ्चबाट दर्शकदीर्घामा झरेका श्रेष्ठ आसनग्रहणनिम्ति बोलाइएपछि मञ्चमा गएका थिए। सभामा पहिलोपटक सबैले नेपाली भाषामा मन्तव्य राखे।
जुलुसलाई लिएर सबैभन्दा पहिला एमाओवादी नेता भट्टराई मञ्चमा पुगेका थिए भने बानेश्वरमा झडपमा परेका कारण श्रेष्ठ नेतृत्वको जुलुस अन्तिममा खुलामञ्च प्रवेश गरेको थियो। १ बजे सुरु गर्ने कार्यतालिका भए पनि सवा २ बजे मात्रै मन्तव्य सुरु भएको थियो। सम्बोधन गर्ने मञ्च र झाँकी तथा सांस्कृतिक कार्यक्रम गर्ने मञ्च अलग–अलग थियो।
राजनीतिक दलले सम्भवतः पहिलोपटक डिजिटल डिस्प्ले प्रयोगमा ल्याए पनि त्यसले बेला–बेलामा धोका दिएको थियो। भट्टराई, उपेन्द्र यादव, महेन्द्र राय यादव, अशोक राई लगायतका नेता बोल्दा माइक बिग्रनुको साथै डिजिटल डिस्प्ले पनि बिग्रिँदा केही समय मन्तव्य रोक्नुपरेको थियो।
करिब ३५ हजार मानिस अट्ने क्षमताको खुलामञ्च शनिबार प्रदर्शनकारीले भरिएको थियो। ‘२२ दलले पहिलोपटक सभा गर्दा २२ सय पनि भएनन् भनेर भन्ने ठूला मिडियाले यो देखेर के भन्लान्, आजै साँझ हेर्नु छ,’ दाहालले भनेका थिए।
कार्यक्रममा विभिन्न जातीय पहिचान झल्कने झाँकी र सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो।
सत्तारूढ दल एमालेप्रति बढी आक्रामक देखिएका दाहालले कांग्रेसलाई भने त्यति गाली गरेनन्। उनले यतिसम्म भने, ‘एमाले र कांग्रेसमा केही फरक छैन, एमाले कांग्रेसमा विलय भए हुन्छ।’
दाहालले प्रधानमन्त्री सुशील कोइरालाको राजीनामा भने खुलामञ्चबाट मागेका छन्। ‘प्रधानमन्त्री अचेल धेरै भन्नुहुन्छ, अहिले भ्रष्टाचार अचाक्ली नबढेको छ। त्यसो हो भने प्रधानमन्त्रीले कारबाही गर्न सक्नुपर्योश नत्र राजीनामा दिएर निस्कनुपर्यो , लुरे कुरा गर्नु भएन।’
हृदयेश त्रिपाठीले सायरी मात्रै सुनाएनन्, छेदीलालको नाम परिवर्तनको कथा पनि सुनाउन भ्याएका थिए।
भाषण गर्दागर्दै सञ्चालक पासाङ शेर्पाले रोक्न खोजेपछि गच्छदारले भने, ‘अध्यक्ष (दाहाल) ले भन्नुभएको छ, आज तपाईंले अलि बोल्नुपर्छ अनि किन तपाईं मलाई रोक्ने?’ त्यसपछि निरन्तर बोलेका गच्छदारले कांग्रेस र एमालेको लगातार आलोचना गरेका थिए। ‘कांग्रेस–एमालेसँग प्रचण्ड (दाहाल) लाई पन्छाएर संविधान नल्याउनुहोस् भनेको छु,’ गच्छदारले सभामा यो पनि सुनाउन भ्याए।
प्रधानमन्त्री कोइरालाले बोलाएर फागुन १६ को सभा रोक्न आग्रह गरेको प्रसंग पनि उनले सुनाएका थिए। ‘मलाई प्रधानमन्त्रीले दुईपटक बोलाएर फागुन १६ को सभा रोक्न आग्रह गर्नुभएको थियो, तर मैले मानिनँ, एकचोटि फागुन १६ हेर्नुहोस् भनेर आएँ।’
तराई–मधेसकेन्द्रित दलका नेताहरूले दाहाललाई पटक–पटक ‘अध्यक्ष कमरेड प्रचण्ड’ भनेर सम्बोधन गरेका थिए। ४ बजे भित्रै सम्पन्न गर्ने योजना बनाइए पनि सभा सवा ५ बजेसम्म चलेको थियो।
– महिला वक्ता संघीय लोकतान्त्रिक थरुहट मञ्चकी अध्यक्ष रुक्मिणी चौधरी मात्रै
– आसनग्रहणमा नाम नआएपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मञ्चबाट दर्शकदीर्घामा ओर्लिएका थिए
– खुलामञ्चमा सबभन्दा पहिले बाबुराम भट्टराई र अन्तिममा नारायणकाजी श्रेष्ठ नेतृत्वको जुलुस पुगको थियो
– सभामा डिजिटल डिस्प्ले प्रयोग गरिए पनि पटक–पटक बिग्रिएको थियो
नागरिकबाट