भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपाल आइपुग्यो

620
  •  
  •  
  •  

काठमाडौं । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ । भारतले उपलब्ध गराएको १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत आज नेपाल आइपुगेको हो ।

भारतबाट प्राप्त कोभिसिल्ड खोप विमानस्थलमै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेका छन् । प्राप्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

पहिलो चरणमा खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयको तयारी छ । नेपालमा रहेका करिब १६ हजार खोप केन्द्रलाई परिचालित गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप आयात पछि पहिलो चरणमा जनसंख्याको ३ प्रतिशतलाई मात्र खोप लगाउने बताइएको छ ।

भारतबाट थप तीन चरणमा खोप ल्याउने नेपालको तयारी छ । कोभिसिल्ड सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्रेजेनेकासँग मिलेर विकास गरेको खोप हो । सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ नामक खोपका लागि आपतकालीन प्रयोग स्वीकृति प्रदान गरिसकेको छ ।


  •  
  •  
  •