६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश

109
  •  
  •  
  •  

काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप तत्काल लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारको नाममा आदेश जारी गरेको हो ।

काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले खोपको माग गर्दै सोमबार रिट दायर गरेका थिए ।

२०७७ फागुनमा पहिलो डोज खोप लगाएका उनीहरुले चार महिना वितिसक्दासमेत दोस्रो डोज नपाएपछि सर्वोच्चमा रिट हालेका हुन् । पहिलो डोज खोप लगाएको १५ हप्ता पुगिसक्दासमेत दोस्रो डोज नपाएको उनीहरुको रिटमा भनिएको थियो । आफूहरु जस्तै करिब १३ लाखभन्दा बढी ज्येष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो डोज लगाएको तर दोस्रो डोज नपाएको रिटमा उल्लेख गरिएको छ ।

सरकारले फागुन २३ देखि पहिलो डोज कोभिशिल्ड खोप लगाएका (६५–७५ वर्ष सम्मका ज्येष्ठ नागरिक करिब साँढे १३ लाख) लाई २०७८ साल जेठ १५ भित्र दोस्रो डोज लगाइ सक्नुपर्ने भनेकोमा उपलव्ध हुन नसकेको रिटमा उल्लेख छ ।


  •  
  •  
  •