‘२०७१ साल, हात लाग्यो शून्य’

165
  •  
  •  
  •  

Khil-Raj-Regmi-4काठमाडौं, ३० चैत (ओएनएस) : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपाली जनताले आशा गरेबमोजिम संविधान प्राप्त हुन नसकेकाले २०७१ साल हात लाग्यो शून्यमा विलिन भएको बताएका छन् । नव वर्ष २०७२ सालको शुभकामना सन्देश जारी गर्दै रेग्मीले दलहरु फेरि पनि आफ्नो प्रतिबद्धताबाट चुकेकाले नेपाली जनताको मन अमिलो र कुँडिएको बताएका हुन् ।

 ‘२०७१ सालमा नेपाली जनताले आशा गरेबमोजिम संविधान प्राप्त हुन सकेन । संविधान निर्माणका दृष्टिले नेपालीका लागि गत एक वर्ष हात लाग्यो शून्यमा विलिन भयो । राजनीतिक दलहरु फेरि पनि यस कुरामा आफ्नो प्रतिबद्धताबाट नराम्ररी चुकेका छन्, जसका कारण, नेपाली जनताको मन अमिलो भएको छ र असाध्यै कुँडिएको छ ।’ रेग्मीले निकालेको विज्ञप्तिमा भनिएको छ,  ‘तर, फेरि पनि निराशालाई आशामा बदल्नु जीवन्तताको पहिचान हो र अस्तित्वबोधको सचेतना पनि समयको गतिशीलतामा हुनुु पर्छ र हुने गर्दछ ।’

रेग्मीले आफ्नो नेतृत्वमा २०७० साल मंसिर ४ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भई संविधानसभाले कार्य प्रारम्भ गरेको स्मरण गर्दै आफुले एक वर्षभित्र संविधान जारी गरी मुलुकलाई स्थायित्व, शान्ति र विकासको मार्गमा अग्रसर गराउन दल विशेष आग्रह गर्दै शुभकामना दिएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

रेग्मीले शुभकामना सन्देशमार्फत नयाँ वर्ष २०७२ साल अनिश्चतता र राजनीतिक दलहरुको आपसी अल्झोमा मात्र खेर नजाने विश्वास गर्दै संविधान निर्माण भई देशमा सुख, शान्ति र समृद्धिको हुनेमा आशा ब्यक्त गरेका छन् ।

रेग्मीले नव वर्ष–२०७२ को अवसरमा दिएको  शुभकामना सन्देशको पूर्णपाठ  :- 

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

नव वर्ष २०७२ साल प्रारम्भ भएको यस सुखद क्षणमा सर्वप्रथम स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई सुख, शान्ति, समृद्धि, दीर्घायु एवं सु–स्वास्थ्यको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

आजको यस नवीन प्रहरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुुभाइप्रति शुभकामना व्यक्त गरिरहँदा गत वर्ष आजकै दिन मैले व्यक्त गरेको शुुभेच्छा र कामनाको स्मरण भइरहेछ । २०७० साल मंसिर ४ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भई संविधानसभाले कार्य प्रारम्भ गरेसँगै एक वर्षभित्र नेपाली आवश्यकताको संविधान जारी गरी मुलुकलाई स्थायित्व, शान्ति र विकासको मार्गमा अग्रसर गराउन राजनीतिक दल एवं सम्बद्ध निकायहरुलाई विशेष आग्रह गर्दै संविधान निर्माण गर्ने कार्यमा सफलता प्राप्त होस् भन्ने समेत मैले शुभकामना व्यक्त गरेको थिएँ ।

तथापि, गएको वर्ष २०७१ सालमा नेपाली जनताले आशा गरेबमोजिम संविधान प्राप्त हुन सकेन । संविधान निर्माणका दृष्टिले नेपालीका लागि गत एक वर्ष हात लाग्यो शून्यमा विलिन भयो । राजनीतिक दलहरु फेरि पनि यस कुरामा आफ्नो प्रतिबद्धताबाट नराम्ररी चुकेका छन्, जसका कारण, नेपाली जनताको मन अमिलो भएको छ र असाध्यै कुँडिएको छ ।

तर, फेरि पनि निराशालाई आशामा बदल्नु जीवन्तताको पहिचान हो र अस्तित्वबोधको सचेतना पनि समयको गतिशीलतामा हुनुु पर्छ र हुने गर्दछ । वि.सं. २०७२ साल अनिश्चतता र राजनीतिक दलहरुको आपसी अल्झोमा मात्र खेर जाने छैन, बरु यस वर्ष संविधान निर्माण भई देशमा सुख, शान्ति र समृद्धिको नयाँ क्षितिज खुल्नेछ भन्नेमा म आशावादी छुु ।

समस्त नेपालीलाई मैत्रीभाव र एकताको मान्यताबाट निर्देशित हुुँदै अझ बढी प्रेरणा र उर्जा प्राप्त गरी अग्रसर हुन आजको यस दिनले अभिप्रेरित गरोस् भन्ने कामना गर्दै छिट्टै नेपाली आवश्यकताको संविधान प्राप्त हुन सकोस् भन्ने कामना गर्दछुु । यही आशाका साथ स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुुभाइ दिदीबहिनीहरुमा नयाँ वर्ष २०७२ ले उत्साह, उमङ्ग र समृद्धि ल्याओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछुु ।

२०७२ बैशाख १ गते, मंगलबार, काठमाण्डौ ।


  •  
  •  
  •