अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न छानबिन समिति गठन गरिने

146
  •  
  •  
  •  


काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवाद समाधानका लागि छानबिन समिति गठन गरिने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार छानबिन समिति गठन गर्ने भएको हो ।

मंगलबार खेलाडी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच भएको छलफलपछि दुवै पक्ष छानबिन समिति गठन गर्न राजी भएका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा सदस्यसचिव घिसिङलाई भेटेर निस्कने वित्तिकै खेलाडीहरू सिँधै एन्फा पुगेका थिए । खेलाडीहरूले सदस्यसचिवलाई भेट्नुअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलाई विवाद समाधानका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।
खेलाडीहरूले वैशाख १९ गते एन्फालाई पत्र बुझाएर छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेका थिए । त्यसअघि मुख्य प्रशिक्षक अल्मुताइरीले पनि वैशाख १८ गते एन्फा महासचिवलाई पत्र लेख्दै खेलाडीको गल्तीमा माफी दिन आग्रह गरेका थिए ।

राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण १० खेलाडीले वैशाख १३ गते राति टिम बसेको होटल छाडेका थिए । त्यसपछि उनीहरूले वैशाख १५ पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीको ज्यादतीका कारण टिम छाड्नु परेको बताएका थिए ।


  •  
  •  
  •