स्कटल्याडसँग नेपाल ४ विकेटले पराजित

215
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन (ओएनएस) : आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’को खेलमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार जिम्बावेको बुलावायो मैदानमा भएको खेलमा नेपाललाई स्कटल्यान्डले ४ विकेटले पराजित गरेको हो।

नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले ४१ अाेभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । स्कटल्याण्डका लागि काइल कोएट्जरले सर्वाधिक ८८ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले १४, क्रेग वालेसले १७, सीएस म्याकलियोडले १५, हेन्री जर्ज मुन्सेले १० तथा रिची बेरिंगटनले एक रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मी २-२ तथा  ललित राजवंशीले दिपेन्द्रसिंह एेरीले समान १–१ विकेट लिए ।

यसअघि स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललले स्कटल्याण्डसामु १५० रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले ४७ ओभर ४ बलमा  आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको थियाे ।

नेपालका लागि कप्तान पारस खड्का बाहेक अरु कुनै ब्याट्सम्यानले  राम्रो रन बनाउन सकेनन् । पारस खड्काले ७५ बलमा १० चौकासहित ६३ रन बनाए । पारसले व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपालका अन्य ब्याट्सम्यानले सम्मानजनक स्कोर बनाउन सकेनन् ।

यसअघि नेपाल पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो।


  •  
  •  
  •