खण्डग्रास सूर्य ग्रहण सकियो

259
  •  
  •  
  •  

काठमाडौं । आज बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ भएको खण्डग्रास सूर्यग्रहण २ बजेर २४ मिनेटमा सकिएको छ। खण्डग्रास अर्थात् आधा सूर्य ढाक्ने गरी हुने सूर्यग्रहण अहिलेसम्मकै सबैभन्दा लामो मानिएको छ।

पञ्‍चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार नेपालबाट तीन घण्टा ३३ मिनेटसम्म सूर्यग्रहण देखिएको थियो। काठमाडौंसहितका नेपाली भूभागबाट पनि यो ग्रहण देखिएको थियो। नेपालमा सबैभन्दा धेरै देशको पश्‍चिमी बिन्दु दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट करिब ९८ प्रतिशत ढाकेको देखिएको बताइएको छ। धार्मिक मान्यताअनुसार ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने गर्छ । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । आइतबारको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिले जनाएको छ ।

सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्न हुने शास्त्रीय मान्यता छ ।


  •  
  •  
  •