एनआरएनको उपाध्यक्षमा अमेरिकाका जिसीको उम्मेदवारी

395
  •  
  •  
  •  

khagendra gcकाठमाडौ, ३ असोज(ओएनएस) : अमेरिकामा रहँदै आएका गैरआवासीय नेपाली खगेन्द्र क्षेत्रीले गैरआवासीय नेपाली संघ(एनआरएन) महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा गरेका छन् । शनिबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणाका क्रममा उनले आफ्नो सात बुँदे एजेण्डा प्रस्तुत गर्दै उत्तर अमेरिकामा रहेका नेपालीहरूको प्रतिनिधीत्व गर्दै विश्वभरी छरिएर रहेका सबै गैरआवासीय नेपालीहरूको मन जितेर एनआरएनको ग्लोवल अभियानमा सहभागी हुन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

एनआरएनको ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने मूलमन्त्रलाई यथार्थमा परिणत गर्न कृतसंकल्पित रही सातौं अन्तर्राष्ट्रिय महाधिवेसनको मूल नारा ‘एनआरएनए : पुनर्निर्माणको सच्चे पहरेदार’ लाई यथार्थमा परिणत गर्न आफू प्रतिवद्ध रहने पनि उनले बताए ।
मुलुकमा संविधान बनेपछिको समृद्ध नेपाल निर्माण अभियानमा एनआरएनलाई सहभागी बनाउने प्रण गर्दै उनले प्रवासमा रहेको दक्ष नेपाली मानव शंसाधनलाई त्यसमा सक्रिय सहभागी बनाउन ठोस योजना बनाइ अघि बढ्ने प्रतिवद्धता जनाए ।

सभामा एनआरएन उत्तर अमेरिका क्षेत्रीय संयोजक पदका प्रत्यासी वर्तमान उपक्षेत्रीय संयोजक सोनाम लामाले क्षेत्रीको उम्मेद्वारीको औपचारिक रुपमा समर्थन गर्दै उनलाई विजयी बनाउन आफू चुनावी क्याम्पेनरको भूमिका निर्वाह गर्न तयार रहेको बताए ।

१० हजारभन्दा बढी सदस्य रहेको एनआरएन अमेरिकाले केन्द्रीय नेतृत्वमा महत्वपूर्ण पद पाउनुपर्ने दावी गर्दै त्यसका लागि क्षेत्रीले उपाध्यक्षमा दिएको उम्मेद्वारी उपयुक्त भएको बताए ।

सभामा एनआरएन अमेरिकाका तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले सम्वोधन गर्दै क्षेत्री एनआरएनको आधिकारिक उम्मेद्वार रहेको उल्लेख गर्दै उनलाई जिताउन सिंगो एनआरएन अमेरिका एक ढिक्का भएर लागिपर्ने बताए ।

यसैगरी नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष सञ्जय थापा, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, निवर्तमान वरिष्ठ उपाध्यक्ष श्री पराजुली, एनआरएन अमेरिकाकी सक्रिय सदस्य सुनिता शर्मा, सिन्धु समाजका अध्यक्ष वंशलाल तामाङ, आदिवासी जनजाति महासंघ अमेरिकाका कोषाध्यक्ष तेन्जिङ उक्याव, डेमोकेटिक युथ फ्रन्टका अध्यक्ष प्रमोद सिटौलालगायतका क्षेत्रीको उम्मेद्वारीको समर्थन जनाए ।

यसैबीच एनआरएन उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक पदमा उम्मेद्वारी दिएका आइसीसी सदस्य एसी शेर्पाले पनि उपाध्यक्ष प्रयासी क्षेत्रीको समर्थन गरेका छन् । उनले उक्त पदका लागि क्षेत्री योग्य उम्मेद्वार भएको प्रतिक्रिया दिँदै उनको विजयले एनआरएनको अन्तराष्ट्रिय अभियानमा अमेरिकाको ढोका खुल्ने पनि विश्वास ब्यक्त गरे ।

एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष क्षेत्री व्यावसायिक रुपमा एक सफल कानून व्यवसायी हुन् । उनले एनआरएनका विभिन्न समिति र कार्यदलमा रहेर एकपटकको नेपाली सधैंको नेपाली अभियानलाई सार्थक बनाउन अहम् भूमिका निर्वाह गरेका छन् ।


  •  
  •  
  •