केन्यासँग पराजित भएपछि नेपाल चौथो स्थानमा

406
  •  
  •  
  •  

icc_league_division_2काठमाडौ, १० माघ(ओएनएस) : नामिबियामा आज सम्पन्न भएको डिभिजन २ को प्रतियोगितामा नेपालले चौथो स्थान हासिल गरेको छ । आज भएको केन्याविरूद्धको खेलमा १५ रनको पराजय बेहोर्दै नेपाल चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको हो ।

केन्याले दिएको २ सय ९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपालले ४७ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै मात्र १ सय ९३ रनको योगफल तयार गरेपछि केन्यासँग १५ रनले पराजित भएको हो । नेपालका लागि बिनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ७३ रन जोडे पनि नेपाललाई जित दिलाउनका लागि पर्याप्त हुन सकेन । बिनोद भण्डारीसँग १ सय ७ रनको साझेदारी गरेका ज्ञानेन्द्रले ४८ रन जोडे पनि नेपालका अन्य ब्याटस्म्यान क्रिजमा टिकेपनि रन जोड्न नसक्दा नेपालले जित हासिल गर्न सकेन । यस्तै, शरद भेष्वाकरले २४ रन जोड्दा सागरले ११ रन र सुवासले १० रन जोडेका थिए ।

केन्याका लागि इलिजाह ओटिएनोले सर्वाधिक ४ विकेट लिन सफल भएका थिए भने लुकास ओलुओचले ३ विकेट लिएका थिए । नेहेमिया ओडियाम्बोले २ विकेट र नरेन्द्र पटेलले १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले केन्याले निर्धारित ५० ओभरको खेलमा आफ्ना ९ विकेट गुमाउँदै २ सय ८ रन जोडेको थियो । पछि नेपालले उक्त विजय लक्ष्य पाएको हो । केन्यालाई उक्त योगफलमा पुर्याउनका लागि नेल्सन ओडियाम्बोले सर्वाधिक ४८ रन जोडेका थिए । यस्तै, नरेन्द्र पटेलले ४४ रन, राकेप पटेलले ३२ रन र नेहेमिहा ओडियाम्बोले २५ रन जोडेका थिए ।

नेपालको तर्फबाट सोमपाल कामीले ३ विकेट लिएका छन् । यस्तै, सागर पुनले २ विकेट लिएका थिए भने भुवन कार्की र शक्ति गौचनले समान १-१ विकेट लिएका थिए ।

शुक्रबार केन्या विरूद्ध भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । पराजयकै कारण नेपाल डिभिजन १ मा पुग्न असफल भएको थियो ।

यस्तै, आज भएको फाइनल खेलमा नामिबियालाई ८ विकेटले पराजित गर्दै नेदरल्याण्ड च्याम्पियन बनेको छ भने अर्को खेलमा क्यानडालाई युगान्डाले पनि ८ विकेटले नै पराजित गरेको छ ।

प्रतियोगिताको म्यान अफ दी सिरिज प्रतियोगिताभर १ सय ८५ रन र ६ विकेट लिएका नेपाली टोलीका कप्तान पारस खड्का घोषित भएका छन् ।


  •  
  •  
  •