प्रचण्ड र केजरीवाल प्रभाव ठीक उल्टो

116
  •  
  •  
  •  

काठमाडौं, २८ माघ (ओएनएस) : भारतको दिल्ली विधानसभा चुनावमा पुराना जनाधार र सांगठनिक आधार भएका भारतीय जनता पार्टी, कांग्रेस आई लगायत दलहरुलाई धुलो चटाउँदै आम आदमी पार्टी नामको एक सामाजिक अभियान नयाँ राजनीतिक शक्ति बनेर उदाएको छ । विधानसभामा विपक्षीविहीन भएर उदाएको यो शक्ति कति दीर्घजीवी बन्छ र अन्य परम्परागत शक्तिहरुको आगामी राजनीति के हुन्छ भन्ने चर्चा हुने नै छ । ७० मध्ये ६७ सिटमा विजय हासिल गरेको आम आदमी पार्टीले कसरी यो स्थान लियो त ? प्रमुख कारणहरु यहाँ खोतलिएको छ ।

भाजपाभित्रैको असन्तुष्टि

भाजपा पुरानो सांगठनिक आधार र आफ्नै संगठन शैली भएको पार्टी थियो । पार्टीमा कैयौँ आसलाग्दा नेता तथा कार्यकर्ता थिए । खासगरी हर्ष वर्धनलाई दिल्लीको सम्भावित मुख्यमन्त्रीको रुपमा हेरिएको थियो ।

तर, उनलाई मोदीले विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा आफ्नो क्याबिनेटमा भित्र्याए । अर्का भरलाग्दा नेता जगदीश मुखीलाई पनि भाजपाले पत्याएन । त्यसपछि दिल्लीले भाजपाबाट आस गरेको व्यक्ति त पाएन नै, पूर्वप्रहरी अधिकृत किरण वेदीलाई चुनाव हुनुभन्दा दुई साताअघि मात्र पार्टीमा भित्र्याएर मुख्यमन्त्रीको टिकट दियो । यसले पार्टीभित्रै ठूलो असन्तोष जन्मायो ।

भाजपाविरोधी मत

केन्द्र सरकारको नेतृत्व लिएपछि मोदीको व्यक्तित्वको उचाइ ह्वात्तै नबढेको होइन । तर, दिल्ली चुनावका क्रममा मोदी र उनको सरकारका मन्त्रीहरु आप र केजरीवालको विरुद्धमा जसरी हलुका आरोप र सस्ता खिसिट्युरीका बुद्धिविनोद चलाए, त्यसले दिल्लीको जनमत झनै चिढियो । र, केजरीवालप्रतिको समहानुभूति अझ बढ्यो । मोदी मन्त्रिपरिषदका कतिपय सदस्य त धार्मिक र साम्प्रदायिक भावनामा समेत चोट पुर्याउने गरी प्रस्तुत भए । यसले पनि भाजपालाई फाइदा गरेन ।

भाजपाले कांग्रेसमुक्त भारत भन्ने नारा चलाएसँगै कांग्रेसले उसको सेखी झार्न ‘भाजपामुक्त दिल्ली’को नारा घन्कायो । यसको फाइदा पनि आपलाई पुग्यो । आपले कांग्रेस लगायत अन्य साना दलहरुको भाजपाविरोधी मत पनि हासिल गर्न सफल भयो । यसले गर्दा तुलनात्मक रुपमा कमजोर ठानिएका आपका उम्मेदवार पनि विधानसभाका लोगो भिरेर हिँड्ने भएका छन् ।

AAP 1

केजरीवाल र कुचो

केजरीवालले जनसामान्यको कुरा गर्यो । पानी, बिजुली, यातायात र शिक्षाका दैनन्दिनी समस्यालाई एजेन्डा बनायो । उसले गणितीय रुपमा हिसाबै देखायो, जनसमान्यका समस्या कसरी समाधान गर्न सकिन्छ भनेर । त्यो कुरा जनताले पत्याए । यसअघि ४९ दिन मुख्यमन्त्री भएका केजरीवालले केही ससाना काम पनि सुरु गरेका थिए । त्यसले झन् आशा बढायो । केजरीवालले मुख्यमन्त्री छोड्नु हुँदैनथ्यो भन्ने मत पनि नभएको होइन ।

तर, काठमाडौँमा प्रचण्डले कटवाल काण्डमा राजीनामा दिएपश्चात जुन हिसाबले साख घट्यो, केजरीवालका हकमा ठीक उल्टो भयो । अटो चालक, रिक्सा चालकदेखि सडकका झाडुवालहरु पनि भन्न थाले, केजरीवाल फेरि आउनुपर्छ । तल्लो तहका ‘जनताले अब दिल्ली मोदीका साथ चल्छ’ भन्ने पत्रिकाका ज्याकेट विज्ञापन बुझेनन् । बुझे पनि पत्याएनन् ।

पछिल्लोपल्ट हिसाब त कांग्रेसले पनि देखाएको थियो, पानी, बिजुलीको भाउ घटाउनेबारे । तर, त्यसलाई केजरीवालका कार्यकर्ताले आप घोषणापत्रको प्रतिलिपि भनेर प्रचार गरिदिए र काँग्रेसलाई खर्च बचाइदिएकामा धन्यवाद दिए ।

मिडियाको साथ

भारतमा केही मिडियाहरु बीजेपीलाई साथ दिनु आफ्नो धर्म नै ठान्छन् । कांग्रेसको पक्षमा लाग्ने सञ्चारमाध्यम पनि कम छैनन् । तर, अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियानले आन्दोलनकै रूप लिएपछि मिडिया पनि जबरजस्त उठ्यो । भ्रष्टाचारविरोधी मुद्दामा सिंगो दिल्लीको जनमानस बाँधियो । त्यसलाई केजरीवालले आफ्नो राजनीतिक पुँजी बनाउन सके ।

हिजो आफू सत्तामा छँदा केजरीवालले उठाएका कुराका पछाडि जनधार खोज्ने कांग्रेस अहिले निल भएको छ । ‘तैँले भनेर हुन्छ, जनता हाम्रो पक्षमा छ’ भन्ने कांग्रेस नेताहरुको हैसियत आज केजरीवालले जति दया गर्दा पनि जनादेशविहीन बन्न पुगेको छ । भ्रष्टाचार विरोधी एजेन्डालाई मिडिया र जनमत दुवैले साथ दिएपछि केजरीवाल हाईहाई हुनुको विकल्पै थिएन ।

प्रत्यक्ष जनसरोकार र अहम् राष्ट्रिय समस्यालाई एजेन्डा बनाउने, एजेन्डामाथि राजनीति गर्ने अनि जनमत र मिडियालाई सँगै हिडाउने सामथ्र्य, धैर्यता र प्रतिबद्धता नेपालमा पनि खोजीको विषय भएको छ । छ कोही त्यस्तो माइकालाल, दल, नेता वा अभियन्ता ?

AAP supporters celebrate


  •  
  •  
  •