एसएलसी दिदै गरेका न्यू होराइजनका सुदीप अपहरित

84
  •  
  •  
  •  

काठमाडौं १० चैत । बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रतिभाशाली एसएलसी परिक्षार्थी सुदिप अधिकारी आइतबारदेखि बेपत्ता भएपछि अपहरणको आशंकामा प्रहरी र अभिभावकले खोजी अभियान तीव्र पारेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी राजेन्द्र ढकालका अनुसार सोमबार बेलुका देखि बुटवलको राजमार्ग र जंगल क्षेत्रमा झण्डै दुईसय जना प्रहरी परिचालन गरी खोजी तिव्र पारिएको छ।

उनले भारतीय सिमावर्ती नाका वेलहिया–सुनौली देखि गोरखपुरसम्म पनि प्रहरी परिचालन गरी खोजी कार्य भईरहेको अन्नपूर्णलाई जानकारी दिए।

न्यू होराइजनका प्रिन्सीपल लोकनाथ उपाध्यायका अनुसार अधिकारी प्रतिभाशाली छात्र हुन्।

उनले गत सेन्टअप परीक्षामा गणित विषयमा ९९ अंक ल्याएका थिए। आइतवार एसएलसीको गणित विषयमा ९७ अंकको प्रश्न हल गरेपछि उनी निराश भएका थिए।

साँझ पाँच बजेतिर साथी कहाँ पढ्न जान्छु भनि निस्केका अधिकारी सोमबार बिहान ८ बजे परिक्षामा सहभागी नभएपछि विद्यालय र घरपरिवारमा तनाव भएको थियो। सबैजना मिलेर उनको साथीको घर, आफन्त र बुटवल क्षेत्रमा खोजी गरेपनि पत्तो नलागेपछि प्रहरीसँग गुहार मागिएको हो।

लुम्विनी अञ्चल र रुपन्देही जिल्ला प्रहरी प्रमुख दुबै अधिकारीले पिडित परिवारलाई भेटेर खोजी गर्ने विश्वास दिलाएका छन्। एसपी ढकालले स्वयं वेपत्ता र अपहरण दुबै दृष्टिकोणबाट अधिकारीको खोजी गरिरहेको बताए।

अधिकारी वेपत्ता भएपछि यहाँको सबै एसएलसी परिक्षा केन्द्रमा नैराश्यता छाएको छ। सुदिपका बाबु स्थापित व्यापारी भएकाले उनीसँग दुश्मनी भएका व्यक्तिले बदला लिएको तर्फ पनि प्रहरीले अनुसन्धान गरेको बताइएको छ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •