काभ्रेपलाञ्चोक जिप दुर्घटना : चालक पुर्पक्षका लागि कारागार चलान

627
  •  
  •  
  •  

काभ्रेपलाञ्चोक, १२ मंसिर(ओएनएस) । गत कात्तिक १० गते काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

चालक बोगटीलाई २७ दिन हिरासतमा राखेर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गरेको थियो । चालक बोगटीलाई मंगलबारदेखि पुर्पक्षमा राखेर छानबिन थालिएको हो ।

६ जना सवार बा ३ च २८७ नंको जिप ल्याण्डक्रुजर कच्ची सडकबाट करिब २ सय मिटर तल खस्दा डिआइजी भण्डारी, पत्रकार जीवन पराजुली तथा ट्रेड युनियन कांग्रेसका ३ नं प्रदेश संयोजक विनोद कार्कीको मृत्यु भएको थियो ।

घटनामा गम्भीर घाइते पूर्व प्रहरी नायबउपरीक्षक विनोद गौतमको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते चालक बोगटी र अर्का धनराज पुरी दुर्घटनाको दुई दिनपछि अस्पतालबाट घर फर्किएका थिए ।


  •  
  •  
  •