निषेध गरिएको छ खाली पेटलाई…

74
  •  
  •  
  •  

काठमाडौंमा के थियो त्यस्तो
जहाँ गाँउबाट नाम्लो बोकेर निस्केका थियो हर्क बहादुर
ठूला ठूला ति महलहरु देखेपछि
आँखा भरि सपनी साचेर
भारी बोकेरै भएपनि यहि सहरमा पेट पाल्ने भनेर
पैतालाहरु नखिएसम्म
रिक्सा चलाएर भएपनि पेट पाल्ने भनेर

रुपा थापा

थोरै थोरै चटपटेका पिरोसँगै
पानी पुरिका अमिलोसँगै
अमिलो भएको त्यो मनलाई
थोरै भएपनि शान्ति दिने भनेर

बदाम अनि सुन्तलाका खोस्टासँगै साटेर
बालाजुदेखि रत्नपार्कसम्म
त्यो गाडिको ढोकालाइ ढक्ढक्याएरै पनि
यो पापी पेटलाई पाल्ने भनेर

काठमाडौंको भिडले नचिने पनि उसलाई
उ भने दिन दिनै
त्यहिको धुँवा धुलोसँग आफ्नो पसिना मिसाइरह्यो
कोहि पसिना बेचिरहे
कोहि यौवनका नसाहरु बेचिरहे
जे होस् यो काठमाडौंमा केहि न केहि बिकि नै रह्यो
बिहानदेखि उसैको हल्लाले त हो व्युझने
यो काठमाडौंको घण्टाघर पनि
उसैको खिइएका चप्पलका छापहरुले त हो नि
खोजिरहने त्यो असनको गल्लिमा बाटोहरु

ओ काठमाडौं
तिमिलाई सन्चो छ कि बिसन्चो
तिमिलाई सन्चो भएको भए
आज अचानक कसरी बिझाउन थाले हर्क बहादुरहरु
त्यो खुलामण्चको चौरमा

कयौँ पल्ट ताली बजाएको छ हर्क बहादुरले
त्यहि खुलामण्चमा बसेर
प्रत्येक पल्टको परिवर्तमा
तर आज त्यहि हर्क बहादुरको खाली पेटले
कसरी गिज्यायो तिमिलाई

ओ काठमाडौं सजाउ तिम्रो शहरलाई
कृतिम ति पलास्टिकका फुलहरुले र
लेखिदेऊ तिम्रो शहरमा
निषेध गरिएको छ खाली पेटलाई
निषेध गरिएको छ खाली खुट्टालाई
निषेघ गरिएको छ सपनी देखेर मुस्कुराउनलाई
लेखिदेऊ तिम्रा शहरका ठूला–ठूला भित्ताहरुमा
यहाँ पेट भर्न पनि तिम्रो अनुमती पत्र चाहिन्छ भनेर


  •  
  •  
  •