काठमाडौंमा आजदेखि बिजुली बस

321
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंमा आजदेखि बिजुली बस गुड्न थालेको छ ।  भृकुटीमण्डपमा एक कार्यक्रमका बीच उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बसको शुभारम्भ गरेका हुन् ।

बिजुली बस शुभारम्भ गर्दै पोखरेलले सानो शुरुवाती प्रयास भए पनि विकासका लागि यो परिवर्तनको संवाहक भएको बताए ।

बिजुली बसको उद्घाटन गरेपछि उपप्रधानमन्त्री पोखरेल बिजुली बस चढेर टुँडिखेल घुमेका थिए ।  सुन्दर यातायात कम्पनीले सोमबारदेखि दुई वटा बिजुली बस सञ्चालनमा ल्याएको हो । यी बस रिङरोडमा सञ्चालन चल्नेछन् ।

अघिल्लो हप्ता सुन्दर यातायातले काठमाडौंको भत्केको पुलमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको थियो । चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै काठमाडौंको सडकमा पहिलो पटक निजी क्षेत्रको बिजुली बस गुड्ने शुरु गरेको हो ।

बिजुली बस रिङरोड, नारायणस्थान हुँदै चक्रपथ, भैंसेपाटी, गोंगबु बसपार्कहुँदै सल्लाघारी भक्तपुर, कलंकी ढुंगेअड्डा हुँदै नेपाल मेडिकल कलेजसम्म गुड्नेछ ।

पहिलो रुटमा बसहरुले चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रो रुटमा नारायणथान, जावलाखेल–मेडिसिटी अस्पताल पुग्नेछन् ।
साथै तेस्रो रुटमा गोगंवु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् ।

चौथो रुट अन्तर्गत ढुंगेअड्डा–कलंकी–त्रीपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चावहिल–बौद्ध–जोरपाटीस्थित अत्तरखेलसम्म पुग्नेछन् ।

त्यसैगरी अन्तिम रुट सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमल रहेको छ । कम्पनीले एक वर्षमा अन्य ५० वटा बस थप्ने योजना बनाएको छ । हालका लागि रिंगरोडमा सञ्चालन भए पनि पछि थपिएका बस अन्य रूटमा चलाइने जनाइएको छ ।

सुरुवाती चरणमा सञ्चालन गर्ने चार बसमध्ये दुई वटा ४० सिट र ३० जना उभिएर यात्रा गर्न मिल्ने क्षमताका छन् भने २ वटा बस र ३० सिट तथा २० जना उभिएर यात्रा गर्न मिल्ने क्षमताका छन् ।

यी बस फूल चार्ज गरेपछि २६५ किलोमिटरसम्म गुड्न सक्ने छन् ।


  •  
  •  
  •