काठमाडौं । छाउ प्रथाविरुद्ध सन्देश दिने उद्देश्यले निर्माण गरिएको नाटक ‘कठै ! तिन मास्टर’ राजधानीमा प्रदर्शन गरिएको छ ।
विजयराज आचार्यको कथामा आधारित तथा पुष्पराज अवस्थीद्वारा निर्देशित उक्त नाटक राष्ट्रिय बाल नाटक महोत्सव २०७६ का अवसरमा कुञ्ज थीएटर, बानेश्वर काठमाडौंमा बुधबार भब्यताका साथ मञ्चन भएको हो ।
कैलालीको अत्तरियास्थित एभरेष्ट एकेडमीको प्रस्तुति रहेको नाटक नेपाली समाजमा जरा गाडेर बसेको छाउ प्रथाले मान्छेको जीवनमा पारेको असरसँग सम्बन्धित रहेको एभरेष्ट एकेडमीका प्रिन्सिपल स्माइल चौधरीले बताए ।
चौधरीका अनुसार खास गरेर सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट बसाइ सरेर तराईंका जिल्लामा आइसकेपछि पनि धर्म र संस्कारका नाममा महिनावारी हुँदा कसरी महिलाहरुलाई प्रताडित गरिन्छ भन्ने बारेमा नाटक केन्द्रित छ ।
‘कठै ! तिन मास्टर’ राष्ट्रिय स्तरमै अभिनय गरेको बालबालिकाहरुको यो पहिलो अनुभव हो ।
नाटकमा आस्था भट्ट आशिका पन्डित, सन्तु भट्टराई, नेहा सिंह, प्रान्जल गुरागाँई, करन थापा, हेमन्त भट्ट र सुदिप जोशीले कलाकारका रुपमा अभिनय गरेका थिए । बालबालिकाको अभिनयले दर्शकहरु भाव बिव्हल भएका थिए ।