लालटिनको उज्यालोमा सरस्वतीहरुका वास्तविक अनुहार(मन छुने वास्तविक कथा)

523
  •  
  •  
  •  

१८ चैत्र : ‘लालटिनको उज्यालोमा’ नामक पुस्तक पढेर मन-मष्तिस्कमा उठेका अनगिन्ती सरस्वती जस्तै अन्य धेरै परिवारकाे दवाबकाे सामना गरेकाहरु जीवनमा भाेगेका अनुभव र अनुभुतीहरुलार्इ संसद विन्दा पाण्डेले अाफ्नाे ब्लकमा लेखेकाे जस्ताकाे त्यस्तै उतार गरिएकाे छ।

सा‌ंसद पाण्डेले पुस्तक पढेर मनमा उठेकाे कुराहरुलार्इ यसरी लेख्दै गर्इन‍‍…………..

योे सत्य घटना आजभन्दा ३०–३५ वर्ष अगाडीकाे हाे, त्यस समयमा पनि सुगम ठाउ पाल्पा जस्तो ठाउँमा पनि शिक्षित परिवारको त्यो अवस्थाले नेपाली समाजमा महिला शिक्षाको विषय कति गाह्राे थियो भन्ने कुरा याे पुस्तक पढेर अन्दाज गर्न सकिन्छ । मामाघरवाट विद्यालय शिक्षा शुरु गर्नुभएको सरस्वती पछि घरको नजिकको विद्यालयमा कक्षा छ सम्म अध्ययन गर्दै गर्दा विवाहको कुरा आएपछि घरवाट विद्रोह गरेर चिनजानको दाइ–भाउजुकोमा जाने आट गर्न सकेको कारण मात्र उहाले विद्यालय शिक्षालाई निरन्तरता दिन सक्नुभयो ।

विद्यालय पढ्दै गरेकी केटी विवाहको कुरा आएपछि विद्रोह गरेर अन्त कतै गएर काम गर्दै पढ्दै गर्न थालेकी सरस्वती क्रमश परिवर्तनको उज्यालो पछ्याउदै पार्टीमा आवद्ध हुन थाल्नुहुन्छ । प्रगतिशिल गीत, कविता र साहित्यवाट प्रभावित हुदै अगाडी सरेको एउटा महिला एसएलसी दिएर काममा लाग्दै गरेका अवस्थामा परिवारवाट फेरी पनि विवाहको लागि आउन थालेको दवाववाट जोगाउन पार्टीकै तर्फवाट विवाहको प्रस्ताव त आउछ । तर, त्यसलाई अस्विकार गरेमा हुन आउने परिणामको जिम्मा लिन नसकिने दवावपुर्ण भनाइ पनि संगै आउछ । यो परिदृष्यले तत्कालिन अवस्थामा पार्टीमा लागेका महिलालाई निर्णय अधिकार दिएजस्तो पनि गर्ने र भनेको कुरा नमानेमा परिणामको भागिदार आफै हुन पर्ने दवावपुर्ण अवस्थामा पर्ने गरेका अवस्थालाई देखाउदछ । पारिवािरक दवाववाट मुक्ती पाउनका लागि पार्टीवाट आएको प्रस्तावलाई विना सोधखोज र विना विस्तृत बुझाइ अनिश्चित जीवन लिएर हिडेका भुमिगत कार्यकर्तासंग विवाह गर्नुपर्ने कुरालाई स्वनिर्णयको स्वतन्त्रता मान्नु पर्ने त्रासदीपुर्ण दिनहरुलाई महिलाले जोखिमपुर्ण रुपमा स्विकार गर्नुपर्ने परिवेस थियो । मान्छे राम्रो परिदिदा त ठिकै भयो । यदि त्यस्तो व्यक्ति खराव भइदियो भने “न जन्म घरले स्विकार गर्ने, न त कर्मघरमा नै सामाजिक र कानुनी रुपमा लडाइ गर्न सक्ने“ जोखिम मोल्न तयार हुने त्यस समयका अनगिन्ती सरस्वतीहरुको आटलाई कुन शव्दले सम्बोधन गर्न सकिन्छ वा मिल्छ ? भन्न गाह्राे छ ।

यसरी हेर्दा यो पुस्तक सरस्वतीजीको कथा मात्र नभएर एउटा पुस्ताको प्रतिनिधि पात्र भएर तत्कालिन अवस्थामा पार्टीको विश्वास र भरोसामा जीवन छाडिदिने सैयौ पार्टी कार्यकर्ताको कथा र संघर्षको कथा हो भन्ने अनुभुत हुन्छ । र, आज भुमिगत जीवन विताएर शक्ति र सत्तामा भएका त्यस पिढीका सैयौ पुरुष कमरेडहरुको जीवन सहज बनाउन, परिवारिक अवस्थालाई निरन्तरता दिन र व्यवस्थापन गर्न नेपथ्यमा रहेर गरेका संघर्षका पाइला अनि सफलताका लागि भरथेग गर्ने हात र साथको कथा र व्यथाको संगालो हो लालटिनको उज्यालोमा । लालटिनको उज्यालोमा वास्तवमा पुर्णिमाको चन्द्रमा झै कसैलाई चम्काउन पछाडीवाट समर्पित शक्ति र सानको कथा हो भन्दा सायद अन्यथा नहोला । जसको अस्तित्वलाई सामाजिक न्यायका पक्षको वोलीमा लोली मिलाउनेहरुले पनि सायदै सुक्ष्म ढंगवाट बुझ्न र न्याय गर्न सकेका छन् ।

राजनीतिक नेताको आड र भरोसामा परिवारले अवसरै मात्र लियो भन्नेहरुका लागि लालटिनको उज्यालोमा एउटा जीवन्त उदाहरण हो । आफै खरानी हुने गरी पिल्सने अवस्थामा पनि आशुका धाराले मनभित्रको तापमानलाई घटाउदै मुलुक र जनताका पक्षमा लागेका नेताहरुप्रति परिवारले गरेको कुर्वानीको कथा पनि हो भन्दा फरक नपर्ला यो पुस्तकलाई । जसले यो भोगेको छ र नजिकवाट नियाल्ने अवसर पाएको छ, उनीहरुले मात्र अनुभुत गर्न सक्छन् यी कथाका हरेक शव्द र वाक्यहरुले उजागर गर्न खोजेका ति पिडा, अभाव, डर र भयपुर्ण पलहरुलाई । यसअर्थमा यो सैयौ भुमिगत कार्यकर्ताको परिवारको मात्र होइन, उनीहरुलाई जोगाउन सेल्टर दिने सैयौ सेल्टदाताहरुको कथा पनि जोडिएको छ यस पुस्तकमा ।

हो पद र प्रतिष्टाको आडमा दुरुपयोग गर्ने जमात पनि छ हाम्रो समाजमा । तर, कोही कसैले गरेको शक्तिको दुरुपयोगका आधारमा सवैलाई एउटै डालोमा राखेर हेर्ने दृष्टिकोणले न्याय गर्दैन । विना आग्रह–पुर्वाग्रह यो पुस्तकलाई एकपटक धैर्यतापुर्वक पढ्ने हो भने मुलुक रुपान्तरणको अभियानमा निरन्तर लाग्नेहरुको परिवार कसरी चलेको छ भन्ने कुराको गहिराई चिनाउछ यो पुस्तकले । र, कसैलाई हेरेर सवै व्यक्तिलाई एउटै डालोमा राखेर व्यवहार गर्न मिल्दैन भन्ने कुराको अनुभुत पनि गराउनेछ भन्ने अपेक्षा गर्न सकिन्छ । यो मुलुकमा निरंकुशतको अन्त्यका लागि हिजो जीवनका सारा कुरा छाडेर हिड्ने परिवर्तनकारीहरुको स्वाभिमानी पुर्वक लाग्ने एउटा परिवारको पृष्ठभुमीमा उभिएको प्रतिनिधिमुलक जीवन्त कथा हो यो ।

कामको खोजीको सन्दर्भमा पाएको हण्डर, दुख र संघर्षको वजन ११ वर्षमा १२ वटा जागिर खान पुगेको गणनाले नै बताउछ । तर, जस्तै दुख र पिडामा पनि अन्याय र अत्याचारका विरुद्ध सतिसाल झै ठिंग उभिएको स्वभिमानको उचाइ पद–प्रतिष्ठाले दिने सुख–सुविधाको भन्दा धेरै अग्लो हुन्छ भन्ने कुरा यो पुस्तक पढ्दै गर्दा अनुभुत हुन्छ । अनि ति अनगिन्ती पिडाको विचवाट आएर सांसद, मन्त्री वा यस्तै अरु पदमा वसेपछिको उचाइ मात्र हेरेर गरिने टिप्पणीले के त्यो समर्पणपुर्ण दिनहरुको न्याय गर्न सक्छ ?

राजनीतिक चेतना, परिवर्तनप्रतिको प्रतिवद्धता र विश्वास मानव जीवनको सवैभन्दा ठुलो शक्ति हो । जसले कस्तै कठिनाइमा पनि किनारा लागेर दर्शक बन्न र पिठ्यु फर्काएर भाग्नुभन्दा स्वाभिमानी पुर्वक मृत्यु स्विकार गर्न उत्प्रेरित गर्दछ ।

महिलाहरु कमजोर हुन्छन भन्ने मान्यता राख्ने यो समाजमा सरस्वतीको संघर्ष कुनै पनि पुरुषको भन्दा कम छैन । जीवनभित्र अर्को जीवनलाई वोकेर होस वा काखे बच्चा काखीमा च्यापेर आन्दोलनको मैदानमा निर्वाह गरेको भुमिका, कुनै बहादुर पुरुषको भन्दा कम भन्न मिल्छ ? यसको एउटा उदाहरण सरस्वतीजीको २०४६ को आन्दोलनको अनुभव हो । पार्टीलाई जोगाउने क्रममा अपांगता भएको एउटा छोरीलाई व्यहोरिसकेकी सरस्वती भारी शरिर वोकेर फेरी पनि प्रजातन्त्र र स्वतन्त्रता प्राप्तीको सपना साच्दै बन्दुक वोकेका प्रहरी विरुद्ध जुझ्न डाडामाथि ढुंगा बटुल्दै हुनुहुन्छ र कल्पना साच्नुहुन्छ “मलाई केही भइहाल्यो भने पेटको बच्चा निकालेर बचाइयोस र शहिदको बच्चा भनेर पालियोस“ । यो सत्य घटना हो । जसले राष्ट्रियताका लागि नालापानीमा लड्ने महिलाहरुको विरताको झल्को दिन्छ ।

तत्कालिन पार्टीगत विवाह पद्धती अनुसार सरस्वतीजीलाई विवाहको समय संगै वाच्ने मात्रै होइन, क्रान्तिमा निरन्तर लाग्ने र एकअर्कालाई सहयोग गर्नेे सपथसंगै थप जिम्मेवारी पनि दिइयो । गाउमा सवैलाई दुख दिदै गरेकी एउटी महिला “पालिकी“ लाई तह लगाउनुपर्छ भनेर । यो प्रसंगले पूर्विय दर्शनमा “देवी“ भनेर पुज्न थालिएका तत्कालिन साहसी महिलाहरुको याद दिलाउछ । समाजमा नराम्रा काम गर्ने “असुर“ चरित्रका पुरुषहरुसंग लडाइ गर्दा विजय गर्न गाहे भएका “देवता“ भनिएका पुरुषहरुले अन्तमा “देवी“ गुहारे झै पालिकी भनिने सरस्वती गौतमले सारा गाउका मानिसलाई दिएको दुखको सजाय दिन पनि सरस्वती ज्ञवालीलाई उक्त गाउ जानु पुर्व नै उनलाई तह लगाउने जिम्मेवारी दिइन्छ । अन्ततः सरस्वतीजीले उक्त जिम्मेवारी पुरा गर्नुहुन्छ । पालिकीवाट पिडित धार्मिक व्यक्तीहरुले सरस्वतीजीलाई त्यही पौराणीक कथाको “देवी“ लाई झै सम्मान प्रकट गर्दछन् । महिलालाई कमजोर ठान्ने हाम्रो समाजमा यो कसरी सम्भव भयो ? सोचपुर्ण विषय हो यो ।

महिलावादी दृष्टिकोणवाट विश्लेषण गर्दा यो पुस्तक माक्र्सवादी महिलावादी दृष्टिकोणमा आधारित एउटा महिला क्रान्तिकारी महिलाको कथा हो । जहा महिलाहरु आर्थिक उपार्जनमा लाग्छन । आफ्नो खुट्टामा उभिन्छन । परिवार व्यवस्थापन गर्दछन् । र, वचेको समयमा सामाजिक रुपान्तरणका पक्षमा सार्वजनिक गतिविधिमा लाग्दछन् । नेपालको लोकतान्त्रिक अधिकार प्राप्तिको आन्दोलनमा धेरै सरस्वतीहरु त्यही भुमिकामा रहे । पुरुषहरुले घरपरिवारको दायित्व छाडे । र, लोकतन्त्र पछाडी पनि राजनीतिमा निरन्तरता दिए । आज उनिहरु सिनियर नेता बने । राज्यसत्ताको वागडोर सम्हाले । संगै आन्दोलनमा लागेका महिलाहरु परिवारको व्यवस्थापनका कारण मुलधारवाट पाखा लागे । सार्वजनिक जिम्मेवारीमा सहयोगी मात्र बन्न थाले । फेरी मैदानमा नया पिढीका महिला देखा पर्दै गए । पुराना पाखा लाग्दै गए । अनि, महिला सहभागिताको कुरा गर्दा खैर सिनियर महिला भन्ने प्रश्न चिन्ह लागि रह्यो । यसको ज्वलन्त उदाहरण हेर्न लालटिनको उज्यालोमा नियाल्न सकिन्छ ।

हाम्रो आन्दोलनले समाजवादी महिलावादी दृष्टिकोण अनुसार अगाडी बढ्न र व्यवहार गर्न सकेको भए सायद सरस्वतीजी र उहाका सहयात्री धेरै महिलाहरु पनि राजनीतिक अभियानमा निरन्तर लाग्न सक्थे । सिनियर महिला अभियन्ताका रुपमा मैदानमा सहभागिता देखिन्थ्यो । आज राज्य सत्ता सञ्चालन र राजनीतिको वागडोर अगाडी बढाउने ठाउमा खै महिला भन्ने प्रश्नले सहज उत्तर पाउने थियो । महिला क्षमतालाई नाप्ने मापदण्ड समाजवादी महिलावादी आधारमा बनेको हुन्थ्यो, जसमा परिवर्तिन जेण्डर भुमिका स्थापित भएको हुने थियो । महिला र पुरुषमा रहेको फरक दायित्वका आधारमा फरक आवश्यकतालाई फरक रुपमा सम्बोधन गरिएको हुन्थ्यो । र, महिला–महिला विचमा रहेको विविधितालाई आत्मसात गरिएको हुन्थ्यो । पुस्तक पढिरहदा दिमागमा यस्तै–यस्तै कुरा खेलिरह्यो र अन्तमा दुईवाटा कुरामा टक्क रोकियो ।
पहिलो, अवका दिनमा मात्र पनि हाम्रो रुपान्तरणको आन्दोलनले जेण्डर दृष्टिकोणलाई रुपान्तरण गर्न सक्यो र समाजवादी महिलावादी दृष्टिकोण अनुसार व्यवहार गर्न सक्यो भने सायद आजको पुस्ताका सरस्वतीहरुले केही दशकपछि लेख्ने “लालटिनको नया उज्यालोमा“ उनीहरुको फरक भविष्य र भुमिका पढ्न पाइनेछ । दोस्रो, यही कथावस्तुमा उभिएर यदि सरस्वतीजीको उनीले पुस्तक लेख्नुभयो भने त्यो पुस्तक कस्तो हुन्थ्यो होला ?

लालटिनको उज्यालोमा पुस्तक वजारमा आएको छ । सरस्वती ज्ञवालीले आफ्नो जीवनको भोगाइका मुख्य अनुभव र अुनभुतीलाई शव्दमा उतार्दै तयार गर्नुभएको प्रकाशन हो लालटिनको उज्यालोमा । २०३० को दशकमा पाल्पा जस्तो सुगम जिल्लामा शिक्षित परिवारमा जन्मदासमेत छोरीले विद्यालय जाने अवसर पाउने कुरा कति कठिन थियो भन्ने कुरा यस पुस्तकले उजागर गरेको छ ।

याे कथा बिन्दा पाण्डेकाे ब्लगबाट साभार गरिएकाे हाे ।


  •  
  •  
  •