कश्मीरमा तनाव बढ्दै, मूलधारका नेता नजरबन्दमा

327
  •  
  •  
  •  

एजेन्सी । भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएको छ । त्यहाँका नेताहरु नदरबन्दमा परेका छन् । आइतबाररातिदेखि प्रशासनले सुरक्षा सतर्कता बढाएको जनाउँदै कश्मीरका प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेश्नल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबूबा मुफ्ती र जम्मू कश्मीर पीपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरूकै घरमा नजरबन्द गरिएको छ । त्यहाँ मानिसहरूको आवतजावतमा कडाइ गरिएको छ ।

एक स्थानीय पत्रकारलाई उद्धृत गर्दै बीबीसी हिन्दीले श्रीनगरमा मानिसहरूको आवतजावत रोक्न संविधानको धारा १४४ लागू गरिएको जनाएको छ ।

यो आदेशअनुसार मानिसहरूको आवतजावतमा बन्देज लगाइएको छ र सबै शिक्षण संस्थाहरू बन्द भएका छन् । श्रीनगरमा मोबाइल फोन र इन्टरनेटको सेवा पनि बन्द गरिएको छ ।

जम्मू विश्वविद्यालयका परीक्षा स्थगित भएको छ भने होस्टेलहरु पनि तत्काल खाली गर्न भनिएको छ ।
नजरबन्दपछि पहिलो पटक ट्वीट गर्दै भूतपूर्व मूख्यमन्त्री अब्दुल्लाहले भनेका छन्, ‘के हुन लागेको हो त्यो हामीलाई थाहा छैन तर अल्लाहले हाम्रा लागि जे सोचेका छन् त्यो राम्रै होला भन्ने म कश्मीरका मानिसहरूलाई भन्न चाहन्छु । हामीले शंका गर्नुहुँदैन र सबैलाई शुभकामना दिन चाहन्छु । सबै जना सुरक्षित रहौँ र त्यो भन्दा पनि बढी सबै संयमित रहौँ ।’

पीडीपी नेता महबूबा मुफ्तीले लोकतन्त्रका लागि लगेका नेताहरूलाई नजरबन्द राखिनु विडम्बनापूर्ण भएको बताएकी छन् ।

यता पाकिस्तानले पनि कश्मीरमा भइरहेको घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ । आइतबार नेशनल सेक्युरिटी कमिटीको बैठकले भारतीय सेनाका तर्फबाट हुने कुनै पनि प्रकारका ‘दुस्साहस’को जवाफ सशक्त ढंगले दिने निर्णय गरेको छ ।

पाकिस्तान र अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा जारी संघर्षको स्थायी समाधान खोजिरहेको समयमा नै भारतले कश्मीरको स्थायी शान्ति बिथोल्न थालेको पाकिस्तानको आरोप छ ।


  •  
  •  
  •