इन्सपेक्टरसहित तीन प्रहरीमाथि कारबाही हुने

285
  •  
  •  
  •  

काठमाडौं, १३ चैत (अाेएनएस): इन्सपेक्टरसहित तीन प्रहरीमाथि कारबाही हुने भएकाे छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गका एआइजीकाे छोरा सुगम बममाथि कुटपिटको घटनामा
प्रहरीकै गल्ती रहेको गठित छानबिन समितिले निष्कर्ष निकालेपछि उनीहरु माथि कारवाही हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक प्रहरी अधिकृतले बताए।

रानीपोखरीका एसएसपी रामकृपाल शाह नेतृत्वको छानबिन समितिले प्रहरी नै दाेषी रहेकाे अनुसन्धानले देखाएकाेले उनीहरुमाथि कारबाहीको सिफारिस गरिएकाे छानविन समितिका एक सदस्यले बताए।

गत चैत २ गते एआइजी कमलसिंह बमका छोरा सुगम र उनका साथीहरुमाथि महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरीले कुटपिट गरेका थिए। ठमेलमा ट्याक्सी चढ्ने क्रममा विवाद भएको विषयलाई लिएर प्रहरीले कुटपिट गरेका हुन्। कुटपिटबाट सुगमको अनुहारमा चोट लागेको थियो।

सुगमले आफू एआइजीको छोरा हुँ भन्दा वृत्तका इन्सपेक्टर डिबी लिम्बूले प्रहरीको छोरा भनेर फुर्ती लगाएको भन्दै थप कुट्न दुई प्रहरीलाई निर्देशन दिएका थिए। भोलिपल्ट उनी एआइजीकै छोरा भएको थाहा पाएपछि उनीहरुले माफी मागेका थिए।

इन्सपेक्टर लिम्बूलाई प्रहरी मुख्यालयले २ नम्बरमा गणमा तानिसकेको छ। प्रहरीले कुनै पनि घटनामा कुटपिट गर्न नपाउने भएकाले सो घटनामा प्रहरीको गल्ती देखिएको एसएसपी शाहले बताए।

दोषी प्रहरीमाथि कारबाही सुरु भइसकेको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द बताउँछन्। ‘यो प्रहरीको उदण्डताको पराकाष्ठा हो,’ उनले भने, ‘दोषी प्रहरीमाथि कडा कारबाही हुन्छ।’

छनविन समितिले सोमबार प्रतिवेदन बुझाएको थियाे । समितिले घटनामा सुगम निर्दाेष रहेको र दरबारमार्ग वृत्तका प्रहरीको गल्ती देखाएको हो।


  •  
  •  
  •