नेकपाले कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित पार्टी पदाधिकारीलाई काठमाडौं बोलायो

76
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका पार्टी पदाधिकारीसहित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई छलफलका लागि काठमाडौंमा बोलाएको छ । कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले छलफलका लागि काठमाडौं बोलाएका हुन् ।

मंगलबार बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलले प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाउने निर्णय गरेको हो । नेकपा कर्णाली प्रदेश कमिटीमा इन्चार्ज जनार्दन शर्मा, सहईन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मयाप्रसाद शर्मा रहेका छन् ।

कँडेलसँगै संसदीय दलका नेता तथा मुख्यमन्त्री शाही, शाहीले प्रमुख सचेतकबाट हटाएका गुलाबजंग शाह, मन्त्री प्रकाश ज्वाला र सांसद चन्द्रबहादुर शाहीलाई पनि काठमाडौं बोलाइएको छ । दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको थियो ।

 मंगलबार नै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका ७ जनाले हस्ताक्षर फिर्ता लिने घोषणा गरेका थिए। शाहीले मंगलबार नै प्रदेश सभामा नेपालपक्षीय सांसद कुर्मराज शाहीलाई सचेतक तोकिसकेका छन् भने एक मन्त्रालयसहित महत्वपूर्ण नियुक्तिमा बाँडफाँड गर्नेबारे कुराकानी सकारात्मक भएपछि नेपाल पक्षले हस्ताक्षर फिर्ता लिएको बताइएको छ।

यसैबीच प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर अविश्वास प्रस्ताव अगाडि नबढाउन र तुरुन्त काठमाडौं आउन निर्देशन दिएका हुन्।

 


  •  
  •  
  •