कर्णाली राजमार्गमा स्थायी रुट परमिटबिना गाडी गुड्छन्

244
  •  
  •  
  •  

काठमाडौं, ४ चैत (ओएनएस) : कर्णाली राजमार्गको जुम्ला नाग्म सडकखण्ड अन्तर्गत जुम्लाको रारालिहीमा सोमबार बस दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए, ११ जना घाइते भए । २०६३ सालको चैतमा ट्रयाक खुलेको कर्णाली राजमार्गमा अहिलेसम्म सानाठूला गरी एक सय ५९ वटा दुर्घटना भएका छन् ।

दुर्घटनाबाट हालसम्म २ सय ९ को ज्यान गइसकेको छ भने झण्डै २ सय ५० जना घाइते भए । पटक पटक दुर्घटना भएपछि कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’को नाम दिन थालिएको छ । दुर्घटना भएपिच्छे छानबिन समिति गठन हुन्छन्, छानबिन हुन्छ, प्रतिवेदन बन्छन् तर कार्यान्वयन हुँदैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका दराजमा थन्किन्छन् ।

सोमबारको दुर्घटनापछि आउटलाइन समाचार सेवाले गरेको फलोअपका क्रममा कर्णाली राजमार्गमा सार्वजनिक सवारी साधन सञ्चालनका लागि स्थायी अनुमति नदिइएको खुलेको छ । २ सय ३२ किलोमिटर दुरीको सुर्खेत जुम्ला सडकखण्डमा अहिलेसम्म स्थायी रुट परमिट बिना सार्वजनिक सवारी साधन सञ्चालन भैरहेका छन् ।

कर्णाली राजमार्गमा सार्वजनिक सवारी साधन सञ्चालनका लागि यातायात व्यबस्था कार्यालय बाँकेले २०६४ सालको असार २१ गते अस्थायी रुट परमिट दिएको थियो । अञ्चलस्तरमा गठन भएको यातायात व्यबस्थापन समितिको सिफारिसपछि यातायात व्यबस्था कार्यालय बाँकेले अस्थायी रुट परमिट दिएको यातायात व्यबस्था बिभागका निर्देशक बसन्त अधिकारीले बताए ।

उनले भने, ‘प्रमुख जिल्ला अधिकारीको अध्यक्षता, प्रहरी, यातायात व्यबसायि, कार्यालय प्रमुख तथा यातायात मजदुरको सहभागितामा गठन भएको यातायात व्यबस्थापन समितिको सिफारिसपछि यातायात व्यबस्था कार्यालय बाँकेले सिफारिस दिएको हो । उक्त समितिले त्यस सडक खण्डको पटक पटक अनुगमन पनि गर्नुपर्छ ।’

यो अवधिमा स्थायी परमिटका लागि आवश्यक पूर्वाधार तयार गर्नका लागि कसैले चासो देखाएनन् । स्थायी परमिटका लागि सडकको स्तरोन्नति भई कालोपत्रे गर्नुपर्ने, सडकको अवस्थाको नियमित चेकजाँच गरी तत्काल मर्मत सम्भार गर्नुपर्ने, सडकमा न्यूनतम सुरक्षासम्बन्धी प्रबन्ध मिलाउनुपर्ने थियो । यसप्रति न त सवारी साधन सञ्चालन गर्ने यातायात व्यबसायि समितिले ध्यान दिए न त सिफारिस गर्ने र अस्थायी परमिट दिनेको ध्यान पुग्यो ।

कर्णाली राजमार्गमा सार्वजनिक सवारी साधन सञ्चालनका लागि स्थायी रुट परमिट पाउनका लागि अझै केहि समय लाग्ने देखिन्छ । ‘राजमार्ग ग्राबेल सिल (ओटासिल) गर्ने काम भैरहे पनि सडक साँघुरो, गाडी मोड्नका लागि प्रशस्त स्थान नभएको घुम्ती, बाटोमा पर्ने विभिन्न ठाउँमा मोटरेबल पुल बन्न बाँकी रहेकोले तत्काल स्थायी अनुमती दिने अवस्था छैन ।’ निर्देशक अधिकारीले भने, ‘राजमार्ग वर्षाका समय झण्डै तीन महिनाजति अवरुद्ध हुन्छ । विश्व बैंकको सहयोगमा सडक बिभाग मार्फत ओटासिल गर्ने काम भैरहेको छ । बिचमा पर्ने खोलामा पुल बनाउँन बाँकी नैं छ ।’

दैलेखको खिडीज्युलादेखि जुम्लासम्म सडकको विस्तार, मर्मत सुधार तथा ओटासिल गर्न ८ वटा ठाउँमा ठेकेदारमार्फत काम भइरहे पनि पुरा भैसकेको छैन । एकातर्फ ओटासिल भैरहँदा अर्कोतर्फ भत्किएर खाल्डा पर्न सुरु भैसकेको स्थानीयको भनाइ छ । २०६९ को भदौ १५ गते राति ११ बजे कालिकोटको पाखा–१ सेरावाडा नजिकै विर्तामोडमा यात्रुबाहक बस दुर्घटना हुँदा २८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटना हुनेबित्तिकै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन उपसचिव राजेन्द्र नेपालको संयोजकत्वमा गठन भएको छानबिन समितिले सरकारलाई प्रतिवेदन पनि दिएको थियो । तर अहिलेसम्म कार्यान्वयन भएको छैन बरु यो बिचमा सुर्खेतको कल्याणकाँध र जुम्लानको रारालिहीमा भएका दुई ठूला दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाए ।

नेपाल नेतृत्वको समितिले सडकको स्तरोन्नति तथा कालोपत्रे गर्न, सडकको अवस्थाको नियमित चेकजाँच गरी तत्काल मर्मत सम्भार गर्न, ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, सडकको भार बहन क्षमताअनुसार इजाजतपत्र दिन, सडक अतिक्रमण हटाउन जनचेतनामूलक कार्यक्रम गर्न, सडकमा न्यूनतम सुरक्षासम्बन्धी प्रबन्ध मिलाउन, राजमार्ग गस्ती प्रहरीलाई अझ क्रियाशील बनाउन, राजमार्गमा धर्मकाँटा राख्न, सवारी जाँच कडाइका साथ कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिएको थियो ।

रारालिहीमा भएको दुर्घटनाको छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षेत्रीय सडक निर्देशनालयका प्रमुख मुक्तिप्रसाद गौतमको संयोजकत्वमा एक समिति बनाएको छ । यस अघिका समितिले दिएको प्रतिवेदन कार्यान्वयन नभएका बेला अर्को छानबिन समिति गठन हुनुलाई सरकारले खर्च सक्ने बाटो बनाएको कतिपयको प्रतिक्रिया छ ।

गौतमको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको र समितिले काम सुरु गरिसकेको सदस्यसचिव तथा यातायात व्यबस्था कार्यालय जुम्लाका प्रमुख उमेश बस्नेतले बताए । संयोजक सहितका केहि पदाधिकारी राजमार्गको अनुगमन गर्दै आउने र जुम्लामा भएका सदस्यले घटनाको विवरण संकलन गरिरहेको उनको भनाइ छ ।

पछिल्लो दुर्घटनापछि यातायात व्यबस्था बिभागले देशभरका राजमार्ग तथा सहायक सडकहरुको अनुगमन गर्ने जनाएको छ । राजमार्ग तथा सहायक सडकको अवस्था, सार्वजनिक सवारी साधन सञ्चालनका लागि पाएको अनुमतिको अवस्था, भाडादर, गाडीको प्राविधिक पाटो लगायतको अनुगमन गरीने सूचना अधिकारी तथा निर्देशक बसन्त अधिकारीले बताए ।


  •  
  •  
  •