अखण्ड कर्णालीका लागि पार्टी र नागरिकता त्याग्ने

91
  •  
  •  
  •  

काठमाडौं ३१ साउन ।
कर्णालीमा चलिरहेको आन्दोलनबारे शीर्ष तहबाट सुनुवाई नभए पार्टी सदस्यताबाट राजीनामा दिने यहाँका स्थानीय नेताहरुले चेतावनी दिएका छन् ।

अखण्ड मध्यपश्चिम तथा विषेश अधिकारसहितको स्वायत्त कर्णाली प्रदेशको माग गर्दै आइतबारदेखि अनिश्चितकालीन मुगु बन्द गर्दै आएका मुगुका पार्टीले पहिलो चरणको आन्दोलनको साताैं दिनको विरोधसभालाई सम्बोधन गर्दै पार्टी सदस्यता त्याग्ने बताएका हुन् ।

विरोधसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री हस्तबहादुर मल्लले शीर्ष नेतृत्वले कर्णालीका कुरा सातौँ दिनसम्म शान्तिपूर्ण प्रदर्शन गर्दा पनि नसुनेकाले दोस्रो चरणका कठोर तर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने चेतावनी दिए ।

उनले त्यो बेला जिल्लामा क्रियाशील सबै पार्टी कार्यकर्ताले सदस्यता त्याग्नुपर्नेसम्मको अवस्था आउन सक्ने भएकाले मानसिकरुपमा तयार भै राख्न सबै पार्टीका कार्यकर्तालाई आग्रह गरे ।

एमालेका जिल्ला सचिव जितबहादुर मल्लले आगामी आन्दोलनलाई सशक्त बनाउनका लागि पार्टी सदस्यता, नागरिकता र सरकारी कामकाज सबै त्याग्ने जस्ता विरोधका रुप हुनसक्ने बताए ।

एमाओवादीका पूर्व मुगु जिल्ला इन्चार्ज सुकवीर बुढाले कार्यकर्ता तथा जनताका माग नसुन्ने पार्टीको पुच्छर समाएर बसिराख्न नहुने बताए ।

अनिश्चितकालीन बन्द र दिनानुदिनको प्रर्दशनले यहाँको जनजिवन भने कष्टकर बन्दै गएको छ । भाडामा कोठा लिएर व्यापार गर्दै आएका व्यापारी व्यापारबिनाको घरभाडा कसरी तिर्ने भनेर चिन्तित छन भने विद्यालय बन्द हुँदा आफना सन्तानको भविष्य बिग्रने भन्दै अविभावक चिन्ता व्यक्त गर्दछन् ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •