रोकियो कर्णालीको मन्त्रिपरिषद् हेरफेर

77
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारीबाट पछि हटेका छन् ।

शाहीले हटाउन खोजेका मन्त्रीलाई प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिन दवाब दिएपछि शाही मन्त्रिमण्डल हेरफेरबाट पछि हटेको बताइएको छ । शाहीले पार्टी नेतृत्वको परामर्शपछि मात्रै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् ।

यसअघि शाहीले नेकपा वरिष्ठ नेता माधब नेपाल समूहसँग भएको पूर्व सहमति अनुसार आज मन्त्रिपरिषदमा हेरफेरको तयारी गरेका थिए । मन्त्रिपरिषदमा हेरफेर गर्नका लागि शाहीले नेकपा अध्यक्ष केपी ओली निकट सामाजिक मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढालाई राजीनामा दिन दवाव दिएपनि उनीहरुले राजीनामा गरेका थिएनन् ।

मन्त्रिमण्डलको विषयमा राजनीतिक सहमति जुटाउनुपर्ने देखिएपछि शाही केही दिन मन्त्रिमण्डल हेरफेर नगर्ने निस्कर्षमा पुगेका हुन । वरिष्ठ नेता माधव नेपाल पक्षले यसअघि नै तीन जना नेतालाई मन्त्री बनाउन नाम प्रस्ताव गरिसकेको छ ।

सो पक्षले मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाही मध्येबाट मन्त्री बनाउन सिफारिस गरेको छ । त्यसैगरी माओवादीबाट बिन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री बनाउने तयारी छ ।


  •  
  •  
  •