कर्णालीका मुख्यमन्त्रीलाई माधव नेपाल पक्षको साथ, अविश्वासको प्रस्ताव फिर्ता लिने

109
  •  
  •  
  •  

काठमाडौं । बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूसँग सहमति भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजनीतिक संकट तत्कालका लागि टरेको छ ।

मुख्यमन्त्री शाही र नेता नेपाल पक्षबीच मंगलबार गोप्य सहमति भएको हो । सहमतिअनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल पक्षले अविश्वासको प्रस्ताव फिर्ता लिने भएको हो ।

मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमत भएपछि नेपाल समूहका सांसदहरू अविश्वासको प्रस्तावबाट पछि हटेका छन् । सहमतिअनुसार नेपाल समूहका नेतालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, दलको सचेतक र उपसभामुख दिने सहमति भएको छ ।

दलका सचेतक रहेका गुलावजंग शाहलाई सोमबार नै मुख्यमन्त्री शाहीले दलको सचेतकबाट हटाएर सीताकुमारी नेपाली सचेतक जिम्मेवारी तोकेका छन् । कर्णाली प्रदेशसभाको उपसभामुख रहेकी पुष्पा घर्ति(बिष्ट)ले पनि मुख्यमन्त्री शाहीविरुद्धको ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी छन् । नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् ।

शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि अध्यक्ष पुष्पकमल दाहालले नेता माधवकुमार नेपाल र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए । दाहाललले नेता नेपालसँग भेटेर कुरा गरेपछि नेपालले नेकपाका केन्द्रीय सदस्य नीरज आचार्यलाई समस्या समाधान गर्न सुर्खेत पठाएका थिए । नेता आचार्यले सुर्खेत पुगेर हस्ताक्षरकर्ता नेता नेपाल पक्षधरका सांसदहरूसँग छलफल गरेका थिए ।

मुख्यमन्त्री शाहीले एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने वाचा गरेपछि विवाद मिलेको स्रोतले बताएको छ ।

माधव नेपाल पक्षलाई तीनवटा मन्त्री दिने तयारी भएको बताइएको छ ।


  •  
  •  
  •