कर्णाली नदी बेसिनलाई ऊर्जा र पर्यटन हब बनाइने, नीतिगत तयारी सुरु

1187
  •  
  •  
  •  

karnali
काठमाडौं, १७ भदौ (ओएनएस) : सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् उत्पादन गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ ।

दश हजार ८०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारीको आयोजनाका रुपमा पनि विकास गर्न सकिने बताउँदै आएको छ ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले सो आयोजनालाई अगाडि बढाउने भन्दै अध्ययनसमेत शुरु गरेका थिए । कर्णाली नदी बेसिनलाई जलविद्युत् पर्यटनको नमूना गन्तव्य बनाउने लक्ष्यका साथ वर्तमान सरकारले केही नीतिगत तयारी थालेको छ ।

मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भएका क्षेत्रमध्ये कर्णाली नदी र त्यसका सहायक नदी नै हुन् । सरकारले पहिचान गरेकै आधारमा हेर्ने हो भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)कै सबैभन्दा ठूलो आयोजना कर्णाली चिसापानी जलविद्युत् परियोजनासमेत सोही क्षेत्रमा पर्दछ ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली नदी बेसिनमा बहुउद्देश्यीय परियोजना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने रणनीतिका साथ आवश्यक तयारी शुरु गरिएको जानकारी दिए ।

कर्णाली बेसिनमा हाल कुनै पनि नयाँ आयोजना शुरु नभएको सन्दर्भमा बृहत् गुरुयोजनाका साथ जलविद्युत् र पर्यटनलाई संयुक्तरुपमा जाने गरी नीतिगत तयारी र आवश्यक रणनीतिसमेत तयारीको चरणमा रहेको बताए ।

कर्णाली नदी बेसिनअन्तर्गत हाल माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर) ले निर्माण शुरु गर्ने चरणमा पु¥याएको छ । कुल ९०० मेगावाट क्षमताको सो आयोजना उक्त नदी बेसिनको हालसम्मकै ठूलो आयोजना हो ।

कर्णाली नदीको मुहानमा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र मानसरोबरसमेत पर्ने भएकाले पर्यटन मार्गका रुपमा पनि विकास गर्न सकिने भएकाले त्यसलाई प्राथमिकतामा राखिएको छ ।


  •  
  •  
  •