कर्मचारीकै सर्वेक्षणमा कर्मचारी, ३२ हजार कुण्ठामा २० हजार भ्रष्ट

156
  •  
  •  
  •  

काठमाडौं ४ कात्तिक ।
सरकारी सेवामा कार्यरत ८० हजारमध्ये ३२ हजार निजामती कर्मचारी निराशा र कुण्ठामा बाँचिरहेका छन् । तल्लो तहका यस्ता अधिकांश कर्मचारी सोझा, इमानदार र चाकडी गर्न नसक्ने स्वभावका छन् ।

नेपाल निजामती कर्मचारी संगठनले प्रशासन विज्ञहरूको संलग्नतामा गरेको अध्ययनअनुसार ४० प्रतिशत कर्मचारी निराशा र कुण्ठा बोकेर काम गरिरहेका छन् । उनीहरू सरकारी जागिरलाई जीविकोपार्जनको भरपर्दो र सशक्त माध्यम ठान्दैनन् । कार्यालयमा भ्रष्ट सहकर्मीहरूको बोलवाला हुने र टाठाबाठाहरू वैकल्पिक व्यवसायमा समेत संलग्न रहेकाले उनीहरू निराश र कुण्ठित रहेको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार आठ हजार (१० प्रतिशत) कर्मचारी भ्रष्टाचारमा अत्यधिक लिप्त छन् । उनीहरूसित अकुत सम्पत्ति छ । र, विलासी जीवन बाँचिरहेका छन् । यस्ता कर्मचारीहरू सरुवा–बढुवादेखि ठेक्कापट्टासम्ममा संलग्न हुने गर्छन् ।

त्यस्तै, १२ हजार (१५ प्रतिशत) कर्मचारी प्रत्यक्ष वा परोक्ष रूपमा भ्रष्टाचारजन्य कार्यमा संलग्न छन् । यस्ता कर्मचारी पनि कामभन्दा चाकडी, चाप्लुसीमा बढी केन्द्रित हुने गरेको अध्ययनले देखाएको छ ।

अध्ययनका अनुसार २८ हजार (३५ प्रतिशत) कर्मचारीले वैकल्पिक पेसा गरिरहेका छन् । व्यापार–व्यवसाय, सेयर खरिद, प्राध्यापनलगायतका काममा पनि यस्ता कर्मचारी संलग्न छन् ।

अध्ययनअनुसार सरकारी सेवामा झन्डै १० प्रतिशतदम्पतीले काम गर्छन् । कुल कर्मचारीमध्ये पाँच प्रतिशत सामाजिक प्रतिष्ठाका लागि मात्रै सरकारी सेवामा कार्यरत छन् ।

नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहनकुमार घिमिरेले सोझा, इमानदार र तल्ला तहका कर्मचारी अत्यधिक समस्यामा रहेको बताए । ‘हामीले अध्ययन गर्दा त्यस्ता कर्मचारी निकै निराशा र कुण्ठामा बाँचिरहेको पायौँ, लुच्चाहरूले अत्यधिक कमाउँदै गइरहेका छन्,’ उनले भने । निराश कर्मचारीको समस्या समयमै सम्बोधन नगरिए प्रशासनिक क्षेत्रमा ठूलो समस्या आउनसक्ने उनले बताए ।

केही कर्मचारी यातायात, मालपोत, नापी, श्रम, गृह, अर्थजस्ता आकर्षक निकायमा सधैँ रहिरहने र केही वर्षौँसम्म पनि हुलाक कार्यालयमै रहने गरेको पनि अध्ययनले देखाएको छ । आकर्षण कम हुने निकायमा वर्षौँदेखि कार्यरत कर्मचारी मर्कामा परेको महासचिव घिमिरेले बताए ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुरेश अधिकारीले पनि सोझा र इमानदार कर्मचारी कुण्ठा र निराशा लिएर बाँचिरहेको बताए । राजनीतिक अस्थिरता र कमजोर आर्थिक अवस्थाका कारण सिंगो मुलुकमा नै निराशा र कुण्ठा छाएकाले त्यसको ‘रिफ्ल्याक्सन’ कर्मचारीमा पनि परेको उनले बताए । धेरैभन्दा धेरै कर्मचारी कुण्ठामा रहँदा त्यसको प्रत्यक्ष प्रभाव सेवाग्राहीका काममा पनि पर्न सक्ने अधिकारीको तर्क छ । ‘कुण्ठा र निराशामा रहने कर्मचारीले जनताका काम चुस्त र छरितो गर्न सक्दैनन्, उच्च तहबाटै यसको सम्बोधन हुन जरुरी छ,’ अधिकारीले भने । कर्मचारीको स्वास्थ्य, शिक्षा, आवासीय व्यवस्थाजस्ता सुविधा वृद्धि गर्नुपर्ने उनले बताए ।

प्रशासन विज्ञहरूका अनुसार निजामती सेवामा उपसचिव तथा सहसचिवस्तरसम्म पुगेपछि कमाइको स्रोत बढ्ने गर्छ । यस्ता कर्मचारीहरू पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउनतर्फ उद्यत् पनि हुने गरेको उनीहरू बताउँछन् ।

अधिकृतभन्दा माथि करिब १७ हजार कर्मचारी छन् । नासु, खरिदार, मुखिया तथा बहिदार पदमा कार्यरतको संख्या झन्डै ४२ हजार छ । त्यस्तै श्रेणीविहीन कर्मचारीको संख्या २१ हजार छ । विदेश जाने अवसर पाउने कर्मचारीमा सहसचिव र सचिवस्तरकै अत्यधिक हुन्छन् । अधिकृतभन्दा मुनिकालाई विदेश भ्रमणको अवसर दुर्लभ नै मानिन्छ ।

केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि सर्वोन्नति नेपालमार्फत निजामती कर्मचारीको उत्प्रेरणा सम्बन्धमा अध्यययन गरेको थियो । सो अध्ययनले पनि कर्मचारीमा अवसरहरूको समान वितरण हुन नसकेको भन्दै असमान वितरण हटाउन सरकारलाई सुझाब दिएको थियो ।

महासचिव घिमिरेले राजनीतिक नेतृत्वका रूपमा आउने प्रधानमन्त्री तथा मन्त्रीहरूले कर्मचारीको वास्तविक समस्या पहिचान गरी समाधानको पहल नगरेको आरोप लगाए । प्रशासनिक नेतृत्व पनि समस्या समाधान गर्न उदासीन बन्ने गरेको उनले बताए । सामाजिक सुरक्षाका साथसाथै कर्मचारीका सन्ततिको शिक्षा, स्वास्थ्य र भरणपोषणको ग्यारेन्टी सरकारले गर्नुपर्ने घिमिरेले बताए ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •