कर्मचारी समायोजन सकियो

एक लाख ३१ हजार कर्मचारी समायोजन
395
  •  
  •  
  •  

काठमाडौं, १४ चैत(ओएनएस) : सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३१ हजार कर्मचारी समायोजन गरेको जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारी दरबन्दी स्वीकृत गरेको हो ।

बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव केदार प्रसाद पनेरुले कर्मचारी समायोजन गर्दा संघमा ३५, सात प्रदेशमा १६ र स्थानीय तहमा ४९ प्रतिशतका दरले समायोजन गरेको बताए ।

जसअनुसार संघमा ४८ हजार ४ सय ९ कर्मचारी, सात प्रदेशमा २२ हजार २ सय ९७ र स्थानीय तहमा ६६ हजार ९ सय ८ कर्मचारी खटिने छन् ।

पत्रकार सम्मेलनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संवैधानिक व्यवस्था अनुसार संघीय संरचनाका लागि सबै कर्मचारी समायोजनको काम सकिएको बताए ।

केही प्राविधिक कर्मचारीहरु अभाव भए करारमा लिएर काम चलाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरिएको उनको भनाइ छ ।

देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरुको अभाव भईरहेको गुनासो आईरहेका बेला मन्त्री पण्डितले चालू आर्थिक वर्ष भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षा लिन लोक सेवा आयोगलाई निर्देशन दिएको समेत दिए ।

अब लोक सेवा आयोगले तत्काल २० हजार विभिन्न तहको कर्मचारीको लागि लोक सेवा आयोग आवेदन खुला गर्नेछ ।

मन्त्री पण्डितले कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोग गठन नभएसम्म संघीय लोक सेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि परीक्षा लिने काम गर्ने पनि उनले बताए ।

यस्तै मन्त्री पण्डितले अहिले संघ, प्रदेश र स्थानीय तहको संगठन, संरचना जुन स्वीकृति भएको छ समायोजन पश्चात फेरि पनि आवश्यकता र औचित्यको आधारमा घटबढ हुन सक्ने बताए ।


  •  
  •  
  •