प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधा : मन्त्री पण्डित

330
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओएनएस) : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था गर्ने बताएका छन् ।

बिहीबार ललितपुरमा नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुका लागि आयोजित आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समापन गर्दै मन्त्री पण्डितले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीहरुलाई थप सुविधा हुने व्यवस्थासहितको संघीय निजामती सेवा ऐन संघीय संसदमा पेश गरिएको समेत स्पष्ट पारे ।

अहिले स्थानीय तहमा समायोजन भएर गएका निजामति कर्मचारीहरुलाई बढुवा भएर संघीय सरकार मातहत ल्याउने बाटो खुला रहेको उनको भनाइ छ ।

अहिले समायोजनमार्फत् स्थानीय तहमा गएका निजामती कर्मचारीहरुलाई संघीय सरकार मातहतनै फर्काउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

मन्त्री पण्डितले जनताको पीडालाई सम्बोधन हुनेगरी सेवा प्रवाहको कामलाई अघि बढाउन पनि नवनियुक्त राजपत्रांकित तृतिय श्रेणीका अधिकृतहरुलाई आग्रह गरे ।


  •  
  •  
  •