काममा नफर्किने कर्मचारीलाई कारबाही गर्छौ : प्राधिकरण

539
  •  
  •  
  •  

काठमाडौं, १३ वैशाख(ओएनएस) : राष्ट्रिय पुनर्निमाण प्राधिकरणले काममा नफर्किने कर्मचारीलाई कारबाही गर्ने जनाएको छ ।

भूकम्प पछिको पुनर्निर्माण कार्यमा खटिएका प्राविधिकहरुले आफ्ना माग पूरा नभएको भन्दै राजीनामा दिएको भोलिपल्ट प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै सामूहिक राजीनामा दिएको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा प्राविधिक कर्मचारीको तलबलगायत सेवा सुविधामा प्राधिकरण गम्भीर रहेको र उनीहरुको माग पनि पूरा भईसकेको जनाएको छ ।

‘प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधा लगायतका मागहरु २०७५ भदौबाट लागू हुने गरी नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको र त्यसबारे नेपाल इन्जिनियर्स एसोसियनका पदाधिकारीहरुसहितको २०७६ बैसाख १२ गते बिहानको बैठकमा प्राविधिकहरुलाई जानकारी गराएका थियौं। तर, दिउँसो कार्यक्रम गरी सामूहिक राजीनामा दिएको घोषणा गर्नुले पुनर्निर्माण र भूकम्प पीडित जनताको संवेदनशीलताप्रति प्राविधिकहरुको नियतमाथि प्रश्न उठाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मागहरु सम्बोधन भइसकेको अवस्थामा तत्काल पुनर्निर्माणको कार्यमा जुट्न सबै प्राविधिकहरुलाई प्राधिकरणले निर्देशनसमेत दिएको छ । ‘पुनर्निर्माणको महाअभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइएमा कडा कदम चाल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बाध्य हुनेछ,’ शुक्रबार प्राधिकरणद्वारा विज्ञप्तीमा भनिएको छ ।


  •  
  •  
  •