काठमाडौं भित्रिनेसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई कारबाही

310
  •  
  •  
  •  

काठमाडौं । सरकारले गाउँबाट काठमाडौं उपत्यका भित्रिनेसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई कारबाही गर्ने जनाएको छ ।
डेरामा बस्नेहरु गाउँबाट फर्कंदा घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र माग्न थालेको गुनासो बढेपछि गृह मन्त्रालयले ध्यानाकर्षण गराएको हो । घरबेटीले डेराभित्रै छिर्न नदिने गुनासोपछि गृह मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने तयारी गरेको छ ।

यस्तै गृह मन्त्रालयले डेरावालासँग कोरोनाको प्रमाणपत्र नमागी क्वरेण्टीनमा बस्नेगरी घरबेटीले कोठा उपलब्ध गराइदिनुपर्ने जनाएको छ । कोठा उपलब्ध नगराउने घरबेटीलाई कारबाही गर्ने गरी गृह मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा निर्देशन पठाइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिरबाट आउनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा बोल्दै बाहिर जिल्लाबाट काठमाडौं उपत्यकामा आउने व्यक्तिले १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन् ।


  •  
  •  
  •