कराँतेले झिकायो विदेशी प्रशिक्षक

540
  •  
  •  
  •  

काठमाडौंं, १० साउन (ओएनएस) : राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयबीच विवाद चर्किरहेकै बेला राष्ट्रिय मान्यता पाएको नेपाल कराँते महासंघले भने विदेशी प्रशिक्षक ल्याएर खेलाडीलाई प्रशिक्षण दिन सुरु गरेको छ ।

दक्षिण कोरियाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुदअन्तर्गत कराँतेको तयारीका लागि नेपाल कराँते महासंघले तीन दिनअघि नै विदेशी प्रशिक्षक झिकाएर प्रशिक्षण दिन थालेको हो । एसियाड तयारीका लागि खेलाडीलाई प्रशिक्षण दिन मोनाकोका एन्जेलो स्पाटारोलाई झिकाइएको कराँते महासंघका अध्यक्ष दावा गुरुङले जनाएका छन् । उनका अनुसार एसियाडमा राम्रो नतिजा ल्याउने योजनाअनुसारै प्रशिक्षक ल्याइएको हो । प्रशिक्षण शुक्रबारदेखि त्रिपुरेश्वरको दशरथ रंगशालामा रहेको मेन डोजोमा सुरु भएको छ । प्रशिक्षण २० दिनसम्म चल्नेछ ।

पाँचौंपटकका विश्व च्याम्पियन एन्जेलोले यसअघि नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा कराँते टोलीलाई प्रशिक्षण दिएका थिए । त्यसबेला एैतिहासिक सफलता हात पार्ने क्रममा नेपालले कराँतेमा १४ स्वर्ण, १ रजत र १ कास्य जितेको थियो । उनले १२ औं र १३ औं एसियाली खेलकुदमा पनि नेपाली कराँते टोलीलाई प्रशिक्षण दिएका थिए । कराँतेतर्फ नेपालले १२ औं र १३ औं एसियाली संस्करणमा एक–एक कास्य जितेको थियो । सीता राई र समरबहादुर गोलले कास्य जितेका थिए ।

एसियाड तयारीका लागि हाल २१ खेलाडी प्रशिक्षणमा छन् । सबै खेलाडी गत जेठ २३ र २४ गते चितवनमा एसियाली खेलकुदका लागि भएको छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडी हुन् । पुरुषमा विनोद महर्जन, मुकुन्द्र महर्जन, सुवास कार्की, डम्बरबहादुर आले मगर, लेखनाथ मैनाली, पर्शुराम बास्तोला, सानुकुमार रुम्बा, सुनील लामा, विजय लामा, दिगम्बरप्रसाद पन्त र दिवस श्रेष्ठ रहेका छन् । महिलामा मल्लिका थापा, संगीता डंगोल, सुमन लामा, सुभद्रा श्रेष्ठ विभुशा थापा, चन्चला दनुवार, सनी तामाङ, गंगादेवी अधिकारी, अनु अधिकारी र अर्मिला डिसी छन् ।

महासंघका अध्यक्ष गुरुङले विवाद भएपनि पछिल्लो दुई वर्षदेखि प्रशिक्षणमा रहँदै आएका राष्ट्रिय खेलाडीलाई नै एसियाडमा सहभागी गराउनुपर्ने बतँए । दाबाको महासंघलाई नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको छैन । जसका कारण यस महासंघको सिफारिसलाई नेपाल ओलम्पिक कमिटीले स्वीकार्ने देखिएको छैन । ओलम्पिक कमिटीले पुरेन्द्र विक्रम लाखे अध्यक्ष रहेको कराँते महासंघलाई मान्यता दिँदै सोही महासंघले सिफारिस गरेका खेलाडीलाई एसियाडमा सहभागी गराउने देखिएको छ । लाखे अध्यक्ष रहेको महासंघलाई भने राष्ट्रिय खेलकुद परिषद्ले विघटन गर्दै दाबाको अध्यक्षतामा महासंघ गठन गरेको थियो ।

लाखेको अध्यक्षतामा रहेको महासंघले पनि छुट्टै खेलाडीहरूलाई एसियाडका लागि प्रशिक्षण दिँदै आएको छ । राष्ट्रिय खेलकुद परिषद्ले स्वीकार गरेको नेपाल कराँते महासंघका अध्यक्ष गुरुङले बाहिरबाट टिपेर खेलाडी नलान आग्रह गरेका छन् । हामी खेलाडीलाई दुई वर्षदेखि प्रशिक्षणमा राखरिहेका छौं, बाहिरबाट टिपेर खेलाडी लान पाइँदैन,’ गुरुङले भने, ‘एसियाडमा देशको इज्जत जोगाउन पनि प्रशिक्षणमा रहेका खेलाडीलाई लानुपर्छ ।’ उनले अहिले प्रशिक्षणमा रहेका खेलाडीको पछिल्लो प्रदर्शनसमेत उच्च रहेको र एसियन खेलमा पदक ल्याउने सम्भावना रहेको बताए ।


  •  
  •  
  •