केरलामा विमान दुई टुक्राः दुई पाइलटसहित १७ जनाको मृत्यु

91
  •  
  •  
  •  

काठमाडौं । भारत केरलाको कोझिकोड विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको ज्यान गएको छ ।

चालक दलका अरु चार सदस्य भने जीवित रहन सफल भएको एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमार्फत जनाएको छ । दुबईबाट केरला आएको विमानमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । यात्रुमध्ये १० बच्चा पनि थिए।

दुर्घटनामा घाइते भएका १६० यात्रु मध्ये २५ जनाको अवस्था गम्भीर रहेको भारतको नागरिक उड्डयन मन्त्रालयले उल्लेख गरेको छ ।

विमानमा रोजगारी तथा घुम्नका लागि दुबई गएर कोरोना भाइरसको महामारीका कारण उतै रोकिएका यात्रु थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार यात्रु मध्ये २६ जनाको रोजगारी गुमेको तथा २८ जनाको भिसा अवधि सकिएको थियो । सोही कारण उनीहरु भारत फर्किएका थिए ।

यस्तै ५४ जना घुम्न गएर महामारीका कारण उतै फसेकाहरु थिए भने स्वास्थ्य अवस्थाका कारण फर्किएका ६ तथा विवाहका लागि फर्किएका तीनजना थिए ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका सात बजेर ४१ मिनेटमा अवतरणको क्रममा विमान दुर्घटना भएको हो । रनवेबाट बाहिर गएको विमान दुई टुक्रा भए पनि आगो लागेको थिएन ।

दुर्घटनाको छानबिनका लागि दुईवटा समिति बनाइएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


  •  
  •  
  •