बन्दीबाट कारागार नै बन्धक , प्रशासनले खुलाउन सकेन

88
  •  
  •  
  •  

काठमाडौं ३० असोज ।
तीन दिन अगाडिबाट नक्खु कारागारको ‘सि’ ब्लकमा लागेको ताल्चा खुलाउन जेल प्रशासन असफल भएको छ। जेलको आन्तरिक तथा बाह्य प्रशासनले भेदभाव गरेको भन्दै सो ब्लकका कैदीबन्दीले सोमबार दिउँसो बाट जेलको ‘सी’ ब्लकमा प्रवेश गर्ने सबै ढोकामा ताल्चा लगाएर आफ्नो कब्जामा लिएका थिए।

 बुधवार जेल प्रशासन, जिल्ला प्रशासन कार्यालय र जेलको सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी बलका अधिकारीले ताल्चा खुलाउन कैदी–बन्दीसँग पटक पटक वार्ता गरे पनि बुधवार बेलुकासम्म कारागारको ‘सि’ब्लकमा लागेको ताल्चा खुलेको छैन।

कब्जामा लिइएको सी ब्लकमा करिब २ सय ६२ कैदीबन्दी छन्। जेलमा रहेका अभिशेक गिरी, शम्भु गौतम, विक्रम तामाङ लगायतकाले विद्रोहको नेतृत्व गरेका छन्।
जेलर चक्रपाणि गौतमका अनुसार बुधवार छलफलकाक्रममा कैदी–बन्दीले उठाएका विषयमा छानवीन गरी दोषी देखिएकालाई कारवाही गर्न तयार रहेको बताए पनि विद्रोहको नेतृत्व गरिरहेका सो ब्लकका कैदी–बन्दी राजी भएनन्। उनले सो ब्लक नियन्त्रणमा लिन बल प्रयोग गर्नुपर्ने निष्कर्षमा पुगिएको बताए।
‘जति प्रयास गरे पनि उनीहरुले मानेनन्’ गौतमले नागरिकसँग भने’अब बल प्रयोगको अर्को विकल्प देखिएन।’
‘सि’ ब्लकमा ताल्चा लगाएर कब्जामा लिएकाहरुले जेलको आन्तरिक प्रशासनमा खटिएका चौकिदार, नाइके र भाइनाइके गरी १६ जनालाई अर्को जेल नसारेसम्म ताल्चा नखोल्ने अडानमा छन्। ब्लक कब्जामा लिएकाहरुले चौकिदार सहितको सरुवासँगै आफुहरुको सरुवा गरे पनि राजी रहेको तर, उनीहरुको सरुवा नभएसम्म ताल्चा नखोल्ने अडानलिँदा बुधवार समेत सो ब्लक कैदी–बन्दीकै कब्जामा छ।
‘सि’ ब्लकका चौकिदार लगायतका ३८ जना सोमबारबाटै ब्लक बाहिर छन्। उनीहरु सोही कारागारको ‘डि’ ब्लकमा राखिएको छ। ‘सि’ ब्लक पुरै कैदीको कब्जामाहुँदा अन्यत्रबाट आएका कैदी समेत ‘डि’ ब्लकमा राख्दा कैदीको चाप बढेको गौतमले जानकारी दिए।
सोमबारबाट प्रशासनको नियन्त्रबाहिर पुगेको ‘सि’ब्लकका लागी आवश्यक खाद्यान्न जेल प्रशासनले वैकल्पिक मार्गबाट पठाइरहेको छ। जेल प्रशासनले सो ब्लकमा रहेको टेलिफोन सेवा समेत काटिदिएको छ।
मुलुकभरको ७२ जिल्लामा रहेको ७४ कारागारमध्ये नक्खुको सुरक्षामा सशस्त्र प्रहरी बल खटिएको छ। अन्य जेलको सुरक्षामा नेपाल प्रहरीको पहरा गण खटिदै आएको छ। गत बैशाखमा पनि नक्खुकै कैदी–बन्दीले जेलभित्रबाट ताल्चा लगाएर विद्रोह गरेका थिए। उनीहरुले सशस्त्र प्रहरीका डिएसपी र नेपाल प्रहरीका सई समेत बन्दी बनाएपछि नेपाल प्रहरीले बल प्रयोग गरेर दुबैलाई मुक्त गर्दै कारागार पुन प्रशासनको नियन्त्रणमा ल्याएको थियो। नागरिकबाट


  •  
  •  
  •