२३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान

121
  •  
  •  
  •  

काठमाडौं, १ जेठ(ओएनएस) : सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन् ।

बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा २३ औँ पटक पुग्न सफल भएका हुन् ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान राखेका हुन् ।

आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यले कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७ः५० बजे सगरमाथाको शिखरमा पुगेको बताइन् ।

उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै यो राष्ट्रकै गौरवको विषय भएको बताए ।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।


  •  
  •  
  •