मलेसिया कारागारमा कोर्राको पर्खाइमा नेपाली कामदार

206
  •  
  •  
  •  

‘एक रोतन (कोर्रा) को प्रतिक्षामा झण्डै एक महिना बित्यो तर रोतन खानुपर्ने कहिले हो थाहा छैन । आठ/दश दिनपछि हान्छ रे भनेका थिए । तोकिएको समय बितेको पनि लामै भयो । तत्कालै हानिदिए पनि पीडा कम हुन्थ्यो । म त मर्ने भए सर, लौन चाँडो रोतन मिलाइदिनुपर्‍यो ।’मलेसियामा कार्यरत महोत्तरीका २२ वर्षीय एक युवाले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव जीवनप्रकाश सिटौलासँग गुनासो गर्दै चोरीको अभियोगमा मलेसियाको सुनगाई बोलाहा कारागारमा रहेका ती युवाले भने– “एक रोतन हान्ने भनेको छ । चार इन्च जति किला शरीरमा छिर्छ सर । आखिर मेरो कुनै गल्ती थिएन । तर चोरीको अभियोगमा समातेर थुनिदिए ।”

ती नेपाली बन्दीलाई भेट्न आयोगको टोली यही माघ ५ गते सुनगाई बोलाहा कारागारमा पुगेको थियो । ती युवालाई स्थानीय अदालतले सामान्य सजाय भन्दै एक रोतन हान्ने आदेश गरेका रहेछन् । एक रोतन हानेर रिहा गर्ने बताइए पनि उनी त्यो दिन कहिले आउँछ भनेर प्रतीक्षा गरेर बसेका छन् ।

आयोग परिसरमा आज रासससँग सहसचिव सिटौलाले नेपाली युवाको बिलौनाबारे भने– “नेपाली कामदार असाध्यै दुःखमा छन् । रोतनको प्रतिक्षामा बस्नेदेखि स्वदेश फर्किन चाहने नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ तर त्यहाँस्थित नेपाली राजदूतावासले सामान्य पहल पनि गर्न सकेको छैन ।”

दश लाखभन्दा बढी नेपाली कार्यरत मलेसियामा ११ वटा कारबासमा ३८१ नेपाली छन् । तीमध्ये ११ लाई केही समय पहिले नेपाल फिर्ता गरिएको छ ।

दूतावासले पहल नगर्दा उनीहरुलाई स्वदेश फर्काउन नसकिएको अध्ययनका क्रममा पाइएको सहसचिव सिटौलाले जानकारी दिए । हाल मलेसियाको विभिन्न जेलमा २८४ जना नेपाली छन् । तीमध्ये छजना महिला छन् । काराबास तथा जेलमा रहेका नेपालीलाई रिहा गर्न र स्वदेश फर्काउन दूतावासले पहल गर्नु आवश्यक रहेको अध्ययनका क्रममा पाइएको छ ।

दूतावासको लापर्बाहीका कारण नेपाली कामदार मर्कामा पर्ने गरेको सहसचिव सिटौलाले जानकारी दिनुभयो । सिटौला नेतृत्वको टोलीले गत पुस २९ देखि यही माघ ५ गतेसम्म गरेको स्थलगत अध्ययनका क्रममा त्यहाँ पुग्दा सामान्य समस्यासमेत दूतावासले सम्बोधन नगरेको पाएको थियो ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •