काठमाडौँ, २३ चैत(ओएनएस) : उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र नेपालका लागि युरोपियन युनियन(इयु)का दूत रिन्छे टेरिन्कबीच भारत-इयु संयुक्त विज्ञप्तिबारे छलफल भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा इयु र भारतले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपालको संविधानका बारेमा चर्चाका विषयमा जवाफ मागेका थिए । जवाफमा इयुका दुत रिन्छेले नेपालको संविधानका सम्बन्धमा आफूहरू पहिलेदेखि नै सकारात्मक भएको बताइन् ।
उनले आफूहरूले नेपालको मन दुखाउने मनसायले नगरेको भन्दै भाषा त्यस्तो कसरी पर्न गयो भन्नेमा आफै अचम्मित रहेको बताइन् ।
भारत–इयु संयुक्त विज्ञप्तिमा नेपालको संविधान अपूर्ण भएको भन्दै त्यसलाई समावेशी बनाउन दुई पक्ष मिलेर काम गर्ने उल्लेख गरिएपछि नेपाल सरकारले आपत्ति जनाएको थियो । करिब आधा घन्टा भएको भेटको अधिकांश समय दूत रिन्छेले प्रस्ट्याएकी थिइन् ।
भेटका क्रममा थापाले दूत रिन्छेलाई संयुक्त विज्ञप्तिले नेपालको आन्तरिक मामलामा हस्तक्षेप भएको बताएको स्रोतको भनाइ छ । मन्त्री थापाले विज्ञप्तिले नेपालीको भावनामा चोट पुर्याएको बताएका थिए भने दूत रिन्छेले आफूहरूको त्यस्तो आशय नभएको प्रष्ट्याएकी थिइन् ।
भेटका क्रममा पुनःनिर्माणका विषयमा पनि छलफल भएको बताइएको छ । पुनःनिर्माण सहित पछिल्लो पञ्च वर्षीय योजनाका लागि इयुले ३६० मिलियन युरो नेपाललाई सहयोग गर्ने विषयमा छलफल भएको बताइएको छ ।
इयूका दूत रिन्छे टेरिन्कसहित बेलायत, जर्मनी, फ्रान्स लगायत युरोपेली देशका राजदूतहरु पनि भेटमा सहभागी थिए ।