एक साता संविधानसभा स्थगित गर्न कमल थापाको सुझाव

155
  •  
  •  
  •  

kamal-thapa1काठमाडौ, २२ चैत (ओएनएस):  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीलाई एक साता संविधानसभाको बैठक स्थगित गर्न सुझव दिएको बताएका छन् ।

थापाले प्रधानमन्त्रीलाई भेट गर्दै सर्वदलीय बैठक बोलाएर एक साताको लागि संविधानसभाको बैठक स्थगित गरेर विवादित विषयहरुलाई संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिमा छलफल गर्न पठाउनुपर्ने सुझाव दिएको जानकारी दिदै आठौ दिन सहमति भए सहमति अनुसार र सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्ने प्रक्रिया सुरु गर्न आग्रह गरेको बताए ।

आइतबार रिपोर्टर्स क्लबमा बोल्दै थापाले भेटको क्रममा प्रधानमन्त्री कोइराला संविधान निर्माणमा गंभिर, चिन्तित र ईमान्दार पाएको भन्दै संविधान निर्माण र बार्तालाई सँगसँगै लाने बताएको जानकारी दिए ।

थापाले आफ्नो पार्टीको तर्फबाट संविधान निर्माणमा रचनात्मक र सकारात्मक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको भन्दै विधी र प्रक्रियाबाट हुने निर्णय आफूहरुलाई स्विकार्य भएको बताएको जानकारी दिए ।

यद्यपि उनले प्रश्नावली समितिले अप्रजातान्त्रितक र असंबैधानिक तरिकाले धर्म निरपेक्षता, संघीयता र गणतन्त्रको विषयमा प्रश्न उठाउन नपाउने भनेर आफूहरुको हक खोसेको गुनासो गर्दै ति विषयहरुमा प्रश्न उठाउन निषेध गरे चैत्र २३ गतेको संविधानसभा अवरुद्ध पार्न बाध्य हुने चेतावनी दिएको बताए ।

विवादित विषयलाई संयूक्त महाधिवेशनबाट टुंगाउने गरी पार्टी एकता हुने 

थापाले राप्रपा नेपाल र राप्रपावीच विवादित विषयहरुलाई संयूक्त महाधिवेशनबाट टुङ्गयाउने गरी पार्टी एकता गर्ने तयारी भईरहेको खुलासा गरे ।  उनले भने, ‘राप्रपा नेपालले पनि संबैधानिक राजसस्था छाड्दैन । राप्रपाले पनि गणतन्त्र छाड्दैन । सिद्धान्तको विवादमा बहस कायमै राखेर एकता हुन्छ । मिल्ने विषयहरु अहिले नै मिलाउँछौ । नमिलेका विषयहरुलाई फरक मतको रुपमा सम्मान गर्दै उपयूक्त निकायबाट फैसला गर्ने गरी पार्टी एकता गर्छौ । ’

थापाले देशमा बलियो प्रजातान्त्रिक राष्ट्रबादी शक्तिको आवश्यकता महसुस गरेर पार्टी एकताको पहल थालिएको भन्दै बार्ता टोलीवीच सकारात्मक ढंगले बार्ता जारी रहेकोले छिट्टै पार्टी एकता हुने विश्वास ब्यक्त गरे ।

संविधान निर्माण भएपछि पार्टीको प्राथमिकता फेरिएर आर्थिक समृद्धि र सुशासन हुने भन्दै अहिलेको एजेण्डालाई भन्दा पनि त्यसबेलाको एजेण्डालाई हेरेर पार्टी एकता हुन थालेको थापाले बताए ।

सनातन धर्म सापेक्ष राष्ट्र हुने गरी सर्व धर्म सम्मान सहितको सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने भन्दै उनले त्यसको अर्थ धर्मकै आधारमा कानून र शासन बनाउनु पर्छ भन्ने आफूहरुको माग नरहेको स्पष्ट पारे ।


  •  
  •  
  •