यसरी बन्यो दिल्लीमा सहमतिको ‘रोडम्याप’ ?

165
  •  
  •  
  •  

काठमाडौं २७ मंसिर ।
‘आर्ट अफ लिभिङ’ का लोकप्रिय आध्यात्मिक गुरु रविशंकरलाई भेट गर्न दुई साताअघि परराष्ट्रमन्त्री कमल थापा काठमाडौंबाट दिल्ली ‘ट्रान्जिट’ हुँदै एकाएक बेंग्लोर पुगे । ‘निजी भ्रमण’ भन्दै धर्मकर्मको निहुँमा निस्किएका थापाको यात्राबारे अनेक अडकलबाजी चलिरहेका बेला उनै ‘जीवन बाँच्ने कला’ का गुरु रविशंकर बेंग्लोरमा थापालाई भेटेपछि दिल्ली आएर केही दिन नेपाल परामर्शमा जुटे । नेपालको राजनीतिक घटनाक्रममा निकास पहिल्याउन रविशंकर शीर्षस्थ भारतीय राजनेताहरूसँग नित्य भेटघाटमा लागिपरेका थिए भन्ने केही ढिलो थाहा भएको छ ।

यो सहकार्यमा संयोजनकारी भूमिका निभाउने उद्यमी विनोद चौधरी यतिखेर काठमाडौंमा छन्, जो दुई साताअघि प्रधानमन्त्री केपी ओलीको सूचना र आग्रहमा दुबईबाट ‘समन्वयकारी’ बनेर बेंग्लोर पुगेका थिए । ‘धार्मिक कूटनीति’को उपाय पहिल्याएर एक महिना अन्तरमा दोस्रो पटक भारत आएका परराष्ट्रमन्त्री थापा पनि बेंग्लोर हान्निएका थिए । ‘सहमति र समझदारीको विशिष्ट राजनीतिक रोडम्याप तय हुनुपर्छ भनेर गुरुजीले निर्णायक भूमिका निभाउनुभएकै हो,’ काठमाडौं फिर्ने हतारोमा रहेका बेला चौधरीले कान्तिपुरसँग भनेका थिए, ‘योभन्दा बढी कुरा भन्ने स्थानमा म छैन, स्थिति सहजीकरण गर्ने/गराउने कुराको यो अर्कै तहको प्रयत्न मात्रै हो ।’

नेपाल-भारत सम्बन्ध र दृष्टिकोणमा खुफिया एजेन्सीहरूकै मात्रै चर्चा हुने गरेकोमा पहिलोपटक ‘ट्रयाक-टु’ कूटनीतिजस्तो भान पर्ने रणनीतिले थोरै काम गर्न सकेको देखिन्छ, जसबारे दिल्लीस्थित राजदूत दीपकुमार उपाध्याय पनि जानकार थिए । तर, उनी पनि यो धार्मिक कूटनीतिको भित्री अन्तर्वस्तु पहिल्याउनतिर लागेका थिएनन् ।

बेंग्लोरबाट दिल्ली फिरेपछि परराष्ट्रमन्त्री थापाले विदेशमन्त्री सुष्मा स्वराज र सुरक्षा सल्लाहकार अजित डोबलसम्मको तहमा भेटघाट गरेको मात्रै सार्वजनिक भयो । तर, अरू अन्तःस्करणका भित्री परामर्शहरू भने गुपचुपमै रहे । डिसेम्बर २ को रात बेंग्लोरबाट र्फकंदा परराष्ट्रमन्त्रीको आग्रहमा धर्मगुरु रविशंकर पनि दिल्ली आएका थिए । साथमा थिए, उद्यमी चौधरी । परराष्ट्रमन्त्री थापाले लामो समयदेखि गुरु थाप्दै आएका रविशंकर नेपाल मामिलामा सरोकार राख्ने तथा राजनीतिक र शान्ति स्थायित्वका पक्षधरका रूपमा चिनिन्छन् । ‘स्वभावतः गुरु रविशंकर कहाँ टाठाबाठा भक्तजनदेखि समाज र राष्ट्रका लागि समन्वयी बन्न खोज्नेहरू पनि पुग्छन्,’ गुरुका अर्का निकटस्थ चेला चौधरीले भने, ‘नेपालबाट पनि सयौं संख्यामा फलोअर गुरुसमक्ष पुग्छन् ।’

उच्च स्रोतका अनुसार गुरु रविशंकरसहित उद्यमी चौधरीले दिल्लीमा अर्का सफल उद्यमी जीएमआर ग्रुपका प्रमुख ग्रान्धी मल्लिकारजुना राव (जीएमआर) र मोदी मन्त्रिपरिषद्मा निकै शक्तिशाली मानिने संसदीय मामिलामन्त्री भेनकाई नायडुलाई भेटवार्ताको समन्वय गराएका थिए । चौधरीसँग लामो समयदेखिका चिनारु एवं दुबईमा संयुक्त रूपमा सफल उद्यमीको अन्तर्राष्ट्रिय अवार्ड पाएका जीएमआर स्वयं नेपालमा ९ सय मेगावाटको माथिल्लो कर्णाली परियोजना निर्माणमा तदारुकता ल्याउन ‘उचित समय’ पर्खेर बसिरहेका छन् ।

उनले नेपाल सरोकारमा जोडिने राजनीतिक स्थायित्व र आपसी कलहको चरणबाट गुजि्ररहेको नेपाली राजनीतिक दलहरूलाई जोड्ने ‘साझा रणनीति’बारे सुझाव दिन सहमति जनाइहाले । प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विदेशमन्त्री स्वराजसम्म ‘निकटस्थ र अझ हैकमशाली सम्बन्ध’ राख्ने मन्त्री नायडुको यो भेटघाटमा सहकार्य जुट्न सक्नुको कारण उनै गुरु रविशंकर थिए । नायडुसमेत गुरु रविशंकरका अनन्य भक्त हुन् ।

विषयगत मामिला बुझाउनमा भारत सरकार र संस्थापनको सम्पर्क सूत्रका रूपमा नायडु आइदिएमा धेरै कामकुरा सहज हुने ठानेरै उनलाई ‘राजनीतिक रोडम्याप’को भित्री परामर्शमा अनुरोध गरेरै राखिएको थियो । गुरु रविशंकर दिल्लीमा छँदै कहिले मन्त्री नायडुको कार्यालयमा त कहिले अनौपचारिक स्थलमा कुराकानी गरेर ‘संविधान संशोधनका दुई मुद्दा र सीमांकनको निश्चित समयतालिकामा निर्णय’ खोज्ने कुरामा राय बन्न सकेको थियो । यो रायलाई प्रधानमन्त्री मोदी हुँदै विदेशमन्त्री स्वराज र नेपालका प्रधानमन्त्री ओलीसम्मलाई ‘सहमतिको सम्पूर्ण आधार’ भनेर व्याख्या गरिएको थियो । ‘मन्त्री थापाले दिल्ली छँदै त्यही साझा रणनीतिका आधारमा मधेसी दलहरूसँग कुरा मिलिसकेको छ भनेर भन्ने आँट गरेका हुन्,’ एक जानकारले भने ।

यो सहमतिको दस्तावेज खोज्ने क्रम भइरहेकै बेला भारतको सदनमा उठेको नेपाल चासो र वादविवादका आधारले ‘को कति पानीमा’ भन्ने तह देखाइसकेको थियो । तर, यो बेलासम्म सहमतिको एउटा धरातलमा भने नेपाली र भारतीय उच्च पदस्थ राजनीतिज्ञहरू आइसकेका थिए । किनभने यहाँ रविशंकरको प्रभाव र पहिचान लुकेको थियो । ‘संकेतमा भन्न होस् वा अनुमानमा, विदेशमन्त्री स्वराजले राज्यसभामा उत्रिएर ‘ईश्वरको कृपा रहेमा अबको ५/७ दिनमै द्विदेशीय स्थिति सहज भइसक्ने’ बयान अघिल्लो साता सुनाएकी थिइन् । नभन्दै ईश्वरीय कृपाझैं माहोल केही सकारात्मक बन्नेक्रम बढदो छ ।

‘मधेसी समुदायले गलत काम गरेका होइनन्, नेपालको हितमै काम गरिरहेका हुन् । यो ढिलो वा चाँडो सम्बोधन गर्नै पर्ने विषय हो । अर्कातिर, भारतको सीमावर्ती मधेस मामिलामा भारतको पनि उत्तिकै सरोकार छ भन्ने थाहा पाएरै यो मामिलामा बहस गर्न हामी खटिएका थियौं,’ रविशंकरका दिल्लीवासी एक नेपाली अनुयायीले भने, ‘यसै क्रममा झगडियाका सबै पक्षलाई स-सम्मान दिल्ली बोलाएर कुरा मिलाउन खोजिएको हो ।’

सुरुमा साझा सहमति र समझदारीका ४ बुँदा भनेर नागरिकताको विषय पनि समेटिएकामा यसलाई अन्तरिम संविधानअनुसार मिलाउन सकिने भन्दै दिल्लीबाट काठमाडौं पुगेको सहमतिमा भने तीन बुँदा मात्रै थियो । ‘अब सीमांकनको हकमा पनि पूर्वको झापालाई छाडेर र मोरङ-सुनसरीका केही भागलाई प्रदेश २ मा हाल्न सकिने सहमतिमा कुरा टुंगिन सक्छ,’ स्रोतले भन्यो, ‘अर्कातिर, कैलाली-कन्चनपुरमध्ये २ लाख जति जनसंख्या रहेको कन्चनपुरको थारू क्षेत्र ५ नम्बर प्रदेशमा हाल्न सकेमा थारू/मधेसका पूर्वदेखि पश्चिमसम्म दुई प्रदेश रहेको पनि देखिन्छ ।’
‘बाहिर देखिनेभन्दा भित्र नदेखिने शक्तिहरू छन्,’ भारतका लागि एक पूर्वराजदूतले भने, ‘भिन्नै च्यानलबाट भए पनि दिल्लीमा तयार भएको साझा सहमतिको प्रस्तावलाई परराष्ट्रमन्त्री थापाले सुरुमा दिल्लीमै समकक्षी स्वराजलाई अवगत गराएको सन्दर्भ त्यसै विरोधस्वरूप उठेको होइन, यसमा कारण छ ।’
विशेषतः खुफिया एजेन्सीहरूले फैलाइरहेको नकारात्मक र परस्पर विरोधी कुराका माझ धर्मगुरु रविशंकरसहितले मिलाएर ल्याएको ‘साझा अवधारणा’ लाई नेपाल र भारतका दुवै प्रधानमन्त्रीले सहजै मानेको ती राजदूतको दाबी छ । ‘

कान्तिपुरबाट


  •  
  •  
  •