माग पुरा नगरे सशक्त आन्दोलन गर्ने मूक्त कमैयाहरुको चेतावनी

462
  •  
  •  
  •  

काठमाडौं, ३२ असार (ओएनएस) सरकारले मुक्त कमैयाहरुलाई मुक्ती घोषणा गरेपनि अझै सम्म उचित पूर्नस्थापना हुन नसकेको भन्दै मूक्त कमैया पुर्नस्थापना निगरानी केन्द्रीय संघर्ष समितिले सरकारले समयमै आफ्ना माँग पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मूक्त कमैया पुर्नस्थापना निगरानी केन्द्रीय संघर्ष समितिले विगतमा आफूहरुले गरेको लामो संघर्ष पश्चात मात्रै सकारले २०५७ सालमा मूक्त कमैयाहरुलाई मूक्ति घोषणा गरेको स्मरण गर्दै मूक्ति घोषणा गरेको पनि १४ बर्ष वितिसक्दा कुनै उचित पुर्नस्थापना नभएकोमा आपत्ति जनाएको छ ।

बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले सरकारले मूक्त कमैयाहरुलाई आश्वासन मात्रै दिएको भन्दै पूर्नस्थापनाको विषयमा गम्भिर नभएको आरोप लगाए । संघर्ष समितिका संयोजक बिन्तीराम थारुले राजनीतिक दलले पनि मूक्त कमैयाहरुलाई विभिन्न फोस्रा नाराहरु बाँडेर चुनाव जित्नका लागि भोट बैंकको रुपमा प्रयोग गरेको आरोप लगाए ।

उनले मूक्त कमैयहरुलाई उचित व्यवस्थापन नगरे आफूहरु सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिए । थारुले मूक्त कमैयाहरुको उचित पुर्नस्थापनाका लागि विभिन्न विकास निर्माण लगायतको काममा लगाउनुपर्ने बताए । उनले आफूहरुले पूर्नस्थापनाको आशामा धेरै समय सरकारलाई कुरेको भन्दै अब पनि १५ दिनभित्र सरकारले पूर्नस्थापनाको विषयमा ठोस कदम नचाले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिए ।

नेपाली काँग्रेसका सभासद डील्ली बहादुर चौधरीले मूक्त कमैयाहरुको उचित पूर्नस्थापनाका लागि आफू संसदमा जोडदार रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दै संघर्ष समितिले उठाएका जायज माँगहरुको उचित सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेका छन् । उनले मूक्त कमैयाहरुका परिवारलाई उचित राहत दिनुपर्ने भन्दै स्वास्थ्य, उच्च शिक्षा र आवासको ग्यारेन्टी हुनुपर्ने बताएका छन् ।

संघर्ष समितिले सरकारसंग उच्चस्तरीय अधिकार सम्पन्न आयोग बनाउनुपर्ने, मुक्त कमैयाको परिवारलाई ५ कठ्ठा जग्गा दिनुपर्ने, घर निर्माणको लागि नगद रुपैया र काठ उपलब्ध गराउनुपर्ने, विगतमा भएका सहमतीहरु कार्यन्वयन हुनुपर्ने जस्ता विभिन्न ८ बुँदे माँग अघि सारेको छ ।


  •  
  •  
  •